मत दिन नपाएका मजदुुर

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

तारा पौडेल/पोखरा।

आईतवार देशभर चुनावी चहलपहल भईरहदा सडकमा काम गर्ने मजदुरमा चुनावको कुनै रौनक थिएन् । विहान ७ वजेदेखि नै मतदान गर्न भन्दै मानिसहरु हिडिरहदा उनीहरु भने ज्याला मजदुरी गर्न निस्किएका थिए । यि मजदुर हुन्, नेपालको सल्यान र दाङ जिल्लाका ।

कास्कीको पोखरा २५ हेमजा–मेलबोट हुदै माछापुच्छ्रे गाउँपालिकाको धिताल–धम्पुस–खानी गाउँ–ल्वाङ्ग घलेल–घाचोक रोड अन्तर्गत साढे ४ किलोमिटर सडक कालोपत्रे गर्न पूर्वाधारका काममा खटिएका यी मजदुरहरु आफ्नो आर्थिक अवस्था कमजोर भएकै कारण आफ्नो मताधिकारको प्रयोग गर्न जान पाएनन् । उनीहरुले कामअनुसार प्रतिव्यक्ति दैनिक ७ सय रुपैयाँदेखि १ हजार रुपैयाँसम्म कमाउँछन् ।

सल्यान र दाङ जिल्लाका ४० पुरुष र ४ महिला गरी ४४ जना मजदुरको टिमको नेतृत्व गरेका सल्यान जिल्ला कपुरकोट गाउँपालिका वडा नम्वर ४ का ४२ वर्षीय कर्णबहादुर बुढाले आर्थिक अभावकै कारण आफू लगायत आफना साथीहरु भोट दिन जान नसकेको बताए ।

‘भोट दिन जान त मन थियो नी, आफ्नो अधिकारको कुरा हो, तर अधिकारले मात्र खान लाउन नपुग्ने रहिछ, काम गर्र्नेपर्यो, काम नगरी के खाने?, जहान केटाकेटी पाल्नै पर्यो ।’ उनी भन्छन्–‘हामी काम गरी खाने मान्छेलाई भाडा तिरेर लगेको भए हामी भोट हाल्न जाने थियौं, तर नेताहरुले आफैले खर्च गरेर आउनुपर्छ भन्नुभयो । हामी मजदुरी गरेर खाने मान्छे आफ्नो खर्च गरेर जादा आउँदा ७–८ हजार रुपैयाँ खर्च हुन्छ । अनि ३–४ दिन लाग्छ । फेरी यता काम गरेर आउने आम्दानी पनि हराउँछ, त्यसैले हामी जान सकेनौं।’

दुःख सुख गरेर भोट दिन गए पनि जितेर जाने नेताले मजदुरको हितमा केहि नगरेको तितो अनुभव सुनाउँदै उनले नेताको आस गर्नुभन्दा आफ्नै मजदुरी प्यारो लागेको बताए ।

आफुहरु आर्थिक विपन्नताले भोट दिन जान नपाएपनि अरु नागरिकको भोटले पनि सांसद चुनिने बताउँदै कर्णबहादुरले जितेर नेतृत्वमा जाने नेताले आफुजस्ता मजदुरी गरेर खाने नेपालीहरुको लागि केहि राहातका कार्यक्रम ल्याउन भन्ने चाहान्छन् ।

एक प्रतिनिधि सभा र दुई प्रदेश सभा रहेको सल्यान जिल्लामा प्रदेश सभा  दुई उनको निर्वाचन क्षेत्र हो ।

मंसिर ५ गते समाधान दैनिकमा प्रकाशित समाचार

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्