सामुदायिक रेडियोले समुदायका आवाज समेट्नुपर्नेमा सरोकारवालाको सुझाव

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा ।
गण्डकी प्रदेशका सरोकारवालाहरुको सामुदायिक रेडियोले समुदायमा पुगेर समुदायका आवाज उठान गर्न सुझाव दिएका छन् ।

युनेस्को अफिस, सामूदायिक रेडियो प्रसारक संघ र अमार्क एसिया प्यासिफिकको आयोजनामा गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजना गरिएको सामुदायिक रेडियोको भावी नीति निर्माण सम्बन्धी प्रदेशस्तरीय बैठकमा उक्त सुझाव आएको हो ।

वैठकमा सहभागि सरोकारवालाहरुले सामुदायिक रेडियो समुदायको सारथी भएको हुनाले समुदायका आवाजलाई यथेष्ठ रुपमा सामावेश गर्नुपर्नेमा जोड दिएका थिए । रेडियोका प्रतिनिधिहरुले रेडियोमा भएका समस्याहरु र आगामी दिनमा गर्न सकिने कामहरुको बारेमा सुझाव राखेका थिए ।

सामुदायिक रेडियोले भाषा, भेषभुषा, जातीय अधिकार, लैगिंक समानता कायम गर्दै आएकोमा कार्यक्रममा सहभागीहरुले प्रशंसा गरे ।

कार्यक्रममा रेडियोहरुको वर्तमान समस्या, भावी कार्यक्रम, जातिगत भाषा र पहिचानको विषयमा छलफल भएको थियो । साथै कार्यक्रमका गण्डकी प्रदेश सरकार, स्थानीय सरकार र अन्य सरकारी निकायले सामूदायिक रेडियोहरुलाई गरेका र गर्नुपर्ने सहयोगका बारेमा पनि चर्चा गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका वन निर्देशक रामकाजी श्रेष्ठले समुदायका आवाज उजागर गर्नको लागि सामुदायिक रेडियोको भूमिका अतुलनिय रहेको बताए । उनले समुदायिक रेडियोको महत्व बढाउनको लागि रेडियो समुदायसम्म पुगेर वञ्चित वर्गको आवाज समेट्नुपर्ने धारणा राखे । साथै प्रविधि सँगसँगै परिस्कृत हुदै जानुपर्ने पनि उनको भनाई छ ।

हुलाक निर्देशनालय गण्डकी प्रदेशका शाखा अधिकृत तुलसीप्रसाद आचार्यले रेडियोलाई विधागत रुपमा सञ्चालन गर्न सुझाव दिए ।

कार्यक्रममा नागरिक समाजका अगुवा रामबहादुर पौडेल, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका सचिव यदुनाथ बञ्जरा, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, पत्रकार तथा समाजसेवी शिवराज बस्ताकोटी लगायतले आ आफ्ना भनाई राखेका थिए ।

यस अघि कार्यक्रममा न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्व अध्यक्ष गंगाधर पराजुलीले सामूदायिक रेडियोको नीतिका बारेमा प्रकाश पारेका थिए ।

आदीवासी जनजाति समूदायको अपेक्षा र रेडियोले खेल्दै आएको भूमिकाका बारेमा रेडियो सुनौलोका व्यवस्थापक रिता गुरुङले कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।

गण्डकी प्रदेशमा सामूदायिक रेडियोको अवस्था र रणनीतिका बारेमा सामूदायिक रेडियो प्रसारक संघ गण्डकी प्रदेशका सचिव रोशन तिवारीले प्रस्तुती राखेका थिए ।

बैठकमा सामूदायिक रेडियोका प्रतिनिधिहरु, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि, जातिगत तथा भाषगत क्षेत्रका विज्ञहरु सहित सरकारी कार्यालयका प्रमुखहरु सहभागि थिए ।

सामूदायिक रेडियो लेखनाथ पोखराका अध्यक्ष रामकृष्ण जिसीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत स्वागत मन्तव्य रेडियो गोर्खालीका स्टेशन म्यानेजर खिमा गुरुङ र सञ्चालन सामूदायिक रेडियो प्रसारक संघ कास्कीका संयोजक मोतीसागर अधिकारीले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्