पाेखरा वडा नम्वर ७ मा निस्सा वितरण, दुई सय चार जनाले पाए निस्सा

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

गणेश रामदाम/पाेखरा ।
पोखरा महानगरपालिका वडा नम्वर ७ ले भूमिहीन, दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जाको निस्सा वितरण गरेको छ । विहिवार वडा कार्यालयले वडा कार्यालय परिसरमा एक कार्यक्रमको आयोजना गरि निस्सा वितरण गरेको हो ।

वडा नं. ७ का अध्यक्ष राम मोहन आचार्य, राष्ट्रिय भूमि आयोग कास्की अध्यक्ष गंगा पोख्रेल , आयोगका विज्ञ सदस्य सोम बहादुर नेपाली, वडाका जनप्रतिनिधि तथा कर्मचारीहरुले संयुक्त रूपमा उनीहरूलाई निस्सा वितरण गरेका हुन् ।

अध्यक्ष आचार्यले विहिवार २ सय ४ जना भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गरेको बताए ।

उनका अनुसार निस्साको लागि कुल २ सय १९ वटा लगत फारममा ७२ जना भूमिहीन दलित, १ सय २ भूमिहीन सुकुम्बासी तथा ४५ अव्यवस्थित बसोबासीको आवेदन परेको थियोे । जसमध्ये १ जनाको कागजपत्र नपुगेको ,१४ जनालाई महानगरपालिकाले गरेको निस्सा वितरण कार्यक्रममा वितरण गरेको र २ सय ४ जनालाई विहिवार वितरण गरेको हो ।

राष्ट्रिय भूमि आयोग कास्कीका अध्यक्ष गंगा पोख्रेलले निस्सा भनेको भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी लगत फारम भरे बापत प्रमाण भएको बताए ।

जसले वास्तविकताका आधारमा लालपुर्जा पाउने प्रमाण पनि भएकाले निस्सा लालपुर्जाअघिको लालपुर्जा नै भएको बताए । जग्गा धनी प्रमाण प्राप्तिसम्मको अन्तिम प्रक्रियामा समेत यो निस्साको महत्वपूर्ण भूमिका रहने उनले जानकारी दिए ।

अध्यक्ष पोख्रेलका अनुसार वडाहरुले जति सक्दो छिटो लगत संकलन र प्रमाणीकरण गरी आयोगमा पेस गरेमा आयोगले नापी गर्ने, श्रेस्ता कायम गर्ने र मठ भिडाउने काम गरि जग्गा धनी पुर्जा दिने छ ।

यस्तै राष्ट्रिय भुमी आयोगका विज्ञ सदस्य सोमबहादुर नेपालीले भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई उनिहरुको तीन पुस्ताका नाममा जग्गा भए नभएको, किन्न सक्ने आयस्रोत र आर्थिक अवस्था भए नभएको हेरिने तथा अव्यवस्थित बसोबासीका लागि जग्गाको मूल्य बराबर लाग्ने राजस्व बुझाए जग्गा धनी पुर्जा दिइने बताए ।

उनले हाल बसिरहेको स्थानमा कुनै समस्या नभए सोही स्थानमा, यदि त्यो स्थान उपयुक्त नभए अर्को उपयुक्त स्थानको खोजी गरी बसोबासको व्यवस्था गरिने पनि बताए ।

लामो समय देखि सुकुम्बासीका रुपमा बसोबास गर्दै आएका बुर्तिवाङ्का मनदेव कामी अब आफ्नै नामको जग्गामा बस्न पाउने कुराले खुसी देखिन्थे ।

यस्तै गोरखाका तेजबहादुर बि.क.जस्तै थुप्रै नागरिकहरु सरकारले कुनै बहानामा हाउटाउने हो कि बन्ने चिन्ताबाट मुक्त भएको बताए ।

राष्ट्रिय भूमि आयोगको निर्देशिकाको अनुसूची ६ दफा ५ को उपदफा (३) को खण्ड (घ) को प्रयोजनको लागि भुमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लागि निस्सा वितरण कार्यक्रम गरिएको हो ।

आयोगका अनुसार कास्कीमा झण्डै २८ हजार लगत संकलन भएको छ । प्रतिनिधि तथा प्रदेश सभा सदस्यका लागि भएको निर्वाचनले गर्दा स्थगित भएको निस्सा वितरण अब निरन्तर हुने बताईएकाे छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्