रंगमञ्च दिवसमा अन्तरक्रिया:सामुहिक प्रयासमा पोखराको रंगमञ्चलाई थप व्यवस्थित गर्नुपर्नेमा जोड

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा ।
प्रेस क्लब गण्डकीले सोमबार ‘कोभिड १९ पछिको पोखराको रंगमञ्च र अबको बाटो’ शिर्षकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । विश्व रंगमञ्च दिवसको अवसरमा पोखरा थिएटरको गन्धर्व नाटकघरमा आयोजना गरिएको कार्यक्रममा सबैको सामुहिक प्रयासमा पोखराको रंगमञ्चलाई थप व्यवस्थित गर्नुपर्नेमा वत्ताहरुले जोड दिए ।

अहिले भइरहेका गतिविधिमा मात्र सन्तुष्ट नभई भएका कमीकमजोरीलाई सुधार गर्दै अगाडि बढ्न सकेमा यसको भविष्य सुन्दर हुन सक्ने उनीहरुको भनाई थियो । उनीहरुले नाटक क्षेत्रमा लाग्ने रंगकर्मीको दक्षता वृद्धि गर्न पोखरामा नाटक सम्बन्धी अध्ययन गर्नको लागि एकेडेमी आवश्यक भएको समेत औल्याए । यो क्षेत्रमा देखिएका केही समस्याका बारेमा समेत उनीहरुले खुलेर कुरा गरें ।

वक्ताको रुपमा पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाल, पोखरा थिएटरका अध्यक्ष परिवर्तन, गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ जसमाया गुरुङ जसु, इन्द्रेणी थिएटरका अध्यक्ष केदारनाथ पौडेल रहेका थिए । कार्यक्रमको सहजिकरण क्लबका उपाध्यक्ष राजाराम पौडेलले गरेका थिए ।

कार्यक्रममा बोल्दै पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकालले प्रतिष्ठान स्वायत्त हुन नसक्दा कला क्षेत्रमा अपेक्षाकृत काम गर्न नसकेको बताए । उनले पोखरामा सुविधा सम्पन्न थिएटर आवश्यक रहेको भन्दै त्यसको निर्माणमा सबैजनाले पहल गर्नु पर्ने कुरामा जोड दिए ।

प्रतिष्ठानले नियम विनियमहरु निमार्ण गरे पनि कार्यान्वयनमा जान नसक्दा पोखराको कला क्षेत्रमा उल्लेख्य काम गर्न नसकेका स्विकारे । प्रक्रियागत झन्झटिललाका कारण समेत काम गर्न समस्या भएको उनले सुनाए । यति हुँदा हुदै समेत पोखरामा भइरहेका रंगमञ्चिय गतिविधिमा सधै साथ सहयोग गर्दै आएको र निरन्तरता दिने उनले खुलाए ।

पोखरा थिएटरका अध्यक्ष परिर्वतनले सधंै राज्यको मुख ताक्नु गलत रहेको बताए । राज्यले नीतिगत रुपमा प्रोत्साहान गरेर पोखरामा नाटक सम्बन्धी अध्ययन गर्नको लागि नाट्य एकेडेमी संचाल गर्नुपर्ने र आवश्यकता औल्याए । विद्यालयको पाठ्यक्रम निमार्ण गर्दा नाटकलाई समेत समावेश गरी स्थानीय र प्रदेश सरकार लाग्न सके नाट्य क्षेत्रको भविष्य उज्वल हुने उनको भनाई थियो ।

हाल १३ जना कलाकारलाई पूर्णकालीन कलाकारको रुपमा थिएटरमा जोडेको र यो संख्या २० पु¥याउने आफूहरुको लक्ष्य रहेको उनले खुलाए । कोरोनाको कारण समस्यामा परेको यो क्षेत्र पुनः पुरानै अवस्थामा फर्किएको जनाए । आगामी दिनको लागि तय गरेका केही योजना उनले सुनाए ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य जसुमाया गुरुङ जसुले पोखरामा भएका रंगमञ्चिय गतिविधि निरन्तर हुन जरुरी रहेको बताइन् । नाटकको माध्यमबाट प्रदेशको कला स्थानीय संस्कृतीहरुको संरक्षण हुने र नयाँ पुस्तामा लोक संस्कृतीको हस्तान्तरण हुने बताइन् । गण्डकी प्रज्ञा प्रतिष्ठानले नाट्य क्षेत्रसँग सम्बन्धीत गतिविधिमा निरन्तर सघाउने भनाई उनको थियो । पोखरामा भइरहेका नाट्य गतिविधिले नयाँ पुस्ताको ध्यान खिच्न सफल भएकोमा खुशी व्यक्त गरिन् ।

इन्द्रेणी थिएटरका अध्यक्ष केदारनाथ पौडेलले पोखराका रंगकर्मी परिवर्तन हुन आवश्यक रहेको बताए । पोखराले नाट्य क्षेत्रमा अझै फराकिलो गरी सोच्नुपर्ने उनको भनाई थियो । राज्यका निकायले प्रदान गर्ने सहयोग कम भएको प्रति चिन्ता व्यक्त गर्दै दिने भनिएको सहयोग समेत समयमा पाउन नसक्दा समस्या हुने गरेको खुलाए । संख्यात्मक रुपमा भन्दापनि गुणात्मक रुपमा नाटक निर्माण हुनुपर्नेमा उनको जोड थियो । उनले कार्यक्रम र तालिमका क्रममा विभिन्न देश पुग्दाको अनुभव समेत सुनाए ।

कार्यक्रममा सहभागी मदनराज थापा, सन्तोष बस्याल, लक्ष्मण डुम्रे, आशा मगर लगायतले समेत अबको बाटो सुन्दर बनाउन सुझाब दिएका दिएका थिए । पोखरा प्रज्ञा प्रतिष्ठान र पोखरा थिएटरको सहकार्यमा कार्यक्रम गरिएको हो । क्लबका अध्यक्ष एकराज गिरी र सचिव गौरव त्रिपाठीले पनि प्रेस क्लब तथा अन्तरक्रिया कार्यक्रमको महत्वका बारेमा प्रष्ट पारेका थिए ।

सोही कार्यक्रममा पोखरा थिएटरको प्रस्तुतीमा आगामी बैशाख १ गतेदेखि ९ गतेसम्म मञ्चन हुने नाटक उर्वशी सूक्तको पोष्टर सार्वजनिक समेत गरिएको थियो ।

शिव संकल्पले परिकल्पना तथा लेखन गरेको नाटकको निर्देशन त्रिवेणीले गर्दैछन् । विश्व रंगमञ्च दिवस हरेक वर्ष मार्च २७ मा मनाइन्छ । अन्तराष्ट्रिय रंगमञ्च संस्थानद्धारा सन् १९६२ बाट यो दिवस मनाउन थालिएको हो ।

यस अगाडि प्रेस क्लबले ‘स्ववियु आवश्यकता र औचित्य’ विषयक अन्तक्रिया कार्यक्रम समेत आयोजना गरेको थियो । यस्ता कार्यक्रम निरन्तर रुपमा आयोजना गर्ने प्रेस क्लब गण्डकीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्