काठमाडौंवासीलाई फेवा महोत्सवको निम्ता

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । यही चैत २९ गतेबाट पोखरामा संचालन हुने तीन दिने १८ औं फेवा नब वर्ष महोत्सवमा सहभागिताका लागि होटल संघ पोखरा नेपालले काठमाडौंवासीलाई निमन्त्रण प्रदान गरेको छ ।

संघले हालै काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपाली संस्कृतिको संरक्षण गर्दै नयाँ बर्षलाई धुमधामका साथ मनाउन लेकसाइड स्थित फिस्टेल गेटदेखि हल्लनचोकसम्म आयोजना हुने महोत्सवमा भाग लिन राजधानीवासीलाई आग्रह गरेको हो ।

पर्यटन, संस्कृति र खानालाई जोड दिएर आयोजना हुन लागेको महोत्सवको तयारी अन्तिम चरणमा पुगेको सो अवसरमा जानकारी दिइयो ।

संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले महोत्सवका अवसरमा प्रकाशित दररेटमा संघ अन्तर्गतका होटलले २० प्रतिशत छुटको समेत घोषणा गरेको जानकारी दिए ।

नेपाली नयाँ वर्ष महोत्सवले कोभिड– १९ पछि सुस्ताएको पर्यटनलाई पुनरुत्थान गर्दै लयमा ल्याउने अपेक्षा अध्यक्ष सुवेदीले व्यक्त गरे । अहिले पोखरामा होटलको अकुपेन्सी ८० देखि ९० प्रतिशत हुनुपर्नेमा मुश्किलले ३० प्रतिशत रहेको उनले सुनाए ।

पृथ्वी राजमार्गको सुस्त र अव्यवस्थित स्तरोन्नती तथा गत माघ एक गते पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनाले पोखराको पर्यटन सुस्ताउन पुगेको जानकारी पनि उनले दिए ।

सन् २०२० मा भ्रमण बर्ष मनाउने नाममा सरकारले व्यवसायीलाई होटल क्षेत्रमा लगानी थप्न उक्साउँदा अहिले व्यवसायी समस्यामा परेको गुनासो पनि उनले गरे । यसैगरी बैंकले पनि ऋण लिन जोडबल गर्दा र सात प्रतिशतको व्याज अहिले मनोमानी रुपमा १६ प्रतिशत पुर्याउँदा होटल क्षेत्र मारमा परेको अध्यक्ष सुवेदीले बताए ।

होटल संघ नेपालका द्वितीय उपाध्यक्ष प्रवीणवहादुर पाण्डेले पोखरालाई साहसिक पर्यटनको राजधानीको रुपमा विकास गरिनुपर्ने सुझाव राखे ।

पर्यटन व्यवसायले विदेशी मुद्रा भित्र्याउन मद्दत गर्ने स्मरण गराउँदै उनले यो क्षेत्रलाई उद्योग सरहको मान्यता सरकारले दिनुपर्ने माग राखे । पर्यटनको विकास भयो भने अन्य धेरै क्षेत्र लाभान्विन हुने पनि उनले बताए ।

संघका केन्द्रिय सदस्य एवं होटल संघ पोखरा नेपालका पूर्व अध्यक्ष भरतराज पराजुलीले कला र संस्कृतिको जगेर्ना नै फेवा महोत्सवको मूल उद्धेश्य भएको बताए । नेपाली परम्परा जोगाउन महोत्सव सहयोगी हुने बताउँदै उनले महोत्सवका अवसरमा राम्रो कारोबार भई आर्थिक क्षेत्र चलायमान हुन मद्दत पुग्ने भनाई पनिे राखे ।

महोत्सवका अवसरमा झण्डै ५० हजार पर्यटकले लेकसाइडको भ्रमण गर्ने अनुमान पनि उनले सुनाए । पत्रकार सम्मेलनको संचालन संघका महासचिव एवं प्रचार संयोजक राजेन्द्र ढकालले गरेका थिए । बाह्रसिंगे वियर महोत्सवको प्रायोजक र अन्नपूर्ण केवलकार प्रालि सहप्रायोजक रहेका छन् । नेपाल पर्यटन बोर्डले प्रवद्र्धन गर्ने कार्यक्रमलाई पोखरा महानगरपालिकाले सघाएको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्