पाेखरा ७ ले मानव सेवा आश्रमलाई वार्षिक ५० हजार रुपैयाँ बराबरको खाद्यान्न र सामाग्री दिने

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

गणेश रामदाम/पाेखरा । पोखरा महानगरपालिका वडा नम्वर ७ ले पदस्थापन दिवसमा मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग गरेको छ । पोखरा २५ हेमजामा रहेको मानव सेवा आश्रममा ५० हजार रुपैयाँ बराबरको खाद्यान्न दिएर पदस्थापनको पहिलो वर्ष मनाएको हो ।

वडा अध्यक्ष राममोहन आचार्यले राज्यका सबै नागरिकको अभिभावक सरकार भएको र तिनै तहको सरकारले आफ्नो भुमिका निर्वाह गर्न तर्फ ध्यानाकर्षण गराए । यो वडाले निरन्तर सहयोग गर्ने बताउँदै आचार्यले भने , “मानव सेवा आश्रमको स्थापनाले धेरै मानिसको उद्घार भएको छ । यो पाँच वर्षको कार्यकालमा वार्षिक रुपमा हरेक वर्ष पदस्थापन दिवसका दिन हामी पचास हजार रुपैयाँ बराबरको खाद्यान्न र सामाग्री सहयोग गर्ने प्रतिबद्धता गर्दछौँ।”

उनले पछिल्लो समय पितृ कार्य, जन्म दिन जस्ता कार्यक्रम मानव सेवा आश्रममा गर्नेको संख्या बढेको भन्दै मानवीयता अमर रहेको बताए । यस्तै आवश्यकता अनुसार आश्रमलाई जुनसुकै समयमा पनि सहयोग गर्न तयार रहने पनि उल्लेख गरे ।

वडा सचिव राजेन्द्र पौडेलले जुनसुकै धर्मले मानव सेवालाई ठूलो धर्म मान्ने भन्दै एकले अर्कोलाई सहयोग गरे कोही पनि आफन्त बिहिन नहुने बताए । सडक बालबालिका, बेवारिसे बनि हिडेका र मानसिक सन्तुलन गुमेका नागरिकको जिम्मेवारी मानव सेवा आश्रमले लिएकोमा राज्यको ठूलो जिम्मेवारी कम गराएको उनकाे भनाई छ ।

७ वटै प्रदेशको १९ जिल्लामा २३ सेवा केन्द्र रहेको मानव सेवा आश्रम पोखरामा हेमजा र छोरेपाटन गरि दुई ठाउँमा सेवा केन्द्र सञ्चालनमा रहेका छन् । आश्रमका कास्की संयोजक सदिस पुनका अनुसार हेमजा शाखामा १०५ जसमा ९१ जना मानसिक रोगी र १४ जना अन्य आश्रित छन् । यस्तै ७० जना आश्रित रहेको छोरेपाटन सेवा केन्द्रमा ४१ जना मानसिक र २९ जना अन्य किसिमका मानिस आश्रित छन ।

वडा अध्यक्ष आचार्यको नेतृत्वमा सहयोग सामाग्री लिएर वडा सदस्यहरु क्रमशः बसुनधरा लामिछाने, सुनिता सुनार, विष्णुमणि बराल र अर्जुन थापा सहभागी थिए ।

पोखरा महानगरपालिकाले गत वर्ष बैशाख ३१ को स्थानिय निर्वाचनमा निर्वाचित जनप्रतिनिधिलाई जेठ १२ गते सपथ गराइ पदस्थापन गरेको थियो ।

पदस्थापन दिवसको अवसर पारेर वडाले कार्यालयमा राष्ट्रिय झण्डा फहराएको छ । यस अघि झण्डा स्तम्भ नभएकोले निर्माण गरि पदस्थापनका दिनमै राष्ट्रको पहिचान राष्ट्रिय झण्डा वडा कार्यालय फहराउन लागेको वडाले जनाएको छ ।

यस्तै अध्यक्ष आचार्यले वडामा आउने सेवाग्राहीलाई फोटोकपी र प्रिन्टको सेवा प्रदान गर्न व्यक्तिगत रूपमा प्रिन्ट मेसिन सौजन्य गरेका छन् ।

प्रिन्ट तथा फोटोकपी सेवा नजिक नभएको र सेवा ग्राहीको सेवामा असुबिधा नहोस भनी व्यक्तिगत रुपमा प्रिन्ट मेशिन उपलब्ध गराएको अध्यक्ष आचार्यले बताए । साथै प्रिन्ट तथा फोटोकपी नि:शुल्क गरिने पनि उनकाे भनाई छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्