सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरामा बुधबारबाट खेल पत्रकारिता तालिम, तयारी पुरा

पोखरा १६ जेठ

बुधबारबाट पोखरामा खेल पत्रकारिता सम्बन्धी तालिम हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने तीन दिने तालिमको सम्पूर्ण तयारी पुरा भएको मञ्चका महासचिव राजाराम पौडेलले जनाए । गण्डकी प्रदेशका खेल पत्रकारलाई लक्षित गरेर आयोजना गरिएको तालिम जेठ १९ गतेसम्म सञ्चालन हुनेछ । तालिममा मञ्चमा आवद्ध सदस्यको अलावा गण्डकी प्रदेशमा रहेर खेलकुदको बिटमा अगाडि बढ्न इच्छुक केही पत्रकारको समेत सहभागिता रहने महासचिव पौडेलले बताए ।

प्रदेश खेलकुद परिषद गण्डकी विशेष सहयोगमा आयोजना गर्न लागेको तालिमको प्रमुख प्रशिक्षकमा आइसिसिका एम्पायर दुर्गा नाथ सुवेदी देवेन्द्र रहने तालिम संयोजक सुरज श्रेष्ठले जानकारी दिए । नेपाल टेलिभिजनको समाचार प्रमुख रहेका सुवेदी नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष समेत हुन् ।

एनए कोर्ष गरेका फुटबल रेफ्री सन्तोष गुरुङ र सुशिल केसीले फुटबल खेलका बारेमा प्रशिक्षण गराउनेछन् । गुरुङ नेपाल फुटबल रेफ्री संघका सदस्य तथा केसी कास्की जिल्ला रेफ्री संघका अध्यक्ष हुन् ।

भलिवल खेलको बारेमा पूर्व राष्ट्रिय भलिवल खेलाडी लेखनाथ लम्सालले सहजीकरण गर्नेछन् । कास्की जिल्ला भलिवल संघका उपाध्यक्ष रहेका लम्साल गण्डकी विश्वविद्यालयमा व्याचलर डिग्री स्पोटर््स मेनेजमेन्ट कोर्ष अध्यनरत रहेका छन् ।

टेनिसका भेट्रान खेलाडी तथा टेनिस प्रतियोगिताका निर्देशक राजन पौडेलले टेनिस खेलसँग सम्बन्धीत विषयमा सहजीकरण गर्नेछन् । तालिममा ६० जनाभन्दा बढी खेल पत्रकार सहभागी बन्ने अपेक्षा गरिएको मञ्चका उपाध्यक्ष समेत रहेका श्रेष्ठले बताए ।

पोखरा ट्रेड मल चिप्लेढुङ्गामा रहेको क्लासिक चुलोमा हुने तालिमको औपचारिक उद्घाटन गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाले गर्ने कार्यक्रम तय भएको मञ्चले जनाएको छ । तालिममा पोखरा महानगरपालिकाले समेत सहयोग गरेको छ ।

त्यसोत नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्था हो । यो २०५७ सालमा खेलकुद पत्रकार मञ्च कास्कीका रुपमा स्थापना भएको थियो ।

देश संघीयतामा गएसँगै यसलाई नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशका रुपमा स्तोरोन्नति गर्दै स्वायत्त संस्थाको रुपमा विकास गरिएको छ । हाल ७४ जना पत्रकार मञ्चमा आवद्ध छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्