पत्रकार महासंघ कास्कीको ४७ औं स्थापना दिवस, पोखरा पत्रकारिता सम्मान लक्ष्मी हाउसलाई

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा ।

पोखरा पत्रकारिता सम्मान लक्ष्मी हाउसलाई प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघ कास्कीको ४७ औं स्थापना दिवसका अवसरमा पोखरा पत्रकारिता सम्मानबाट लक्ष्मी हाउस पोखरालाई सम्मान गरिएको हो । गण्डकी प्रदेश सरकारका अर्थमन्त्री जीतप्रकाश आलेले लक्ष्मी हाउसका अध्यक्ष गणेश श्रेष्ठलाई सम्मान पत्र, दोसल्ला र माला सहित सम्मान गरे ।

सम्मान गर्दै मन्त्री आलेले पत्रकारिता पेशा नै गाह्रो पेशा भएको उल्लेख गरेका छन् । राज्यका अरु अंगले धेरै सुविधा पाउँदा चौथो अंग अझै संघर्षमा रहेको भनाई उनको छ ।

पत्रकारका नाममा केही पत्रकारले नाजायज काम गरेको भन्दै त्यस्तालाई नियन्त्रणमा लिनुपर्ने आवश्यकतालाई समेत उनले औंल्याएका छन् । वेथिति विरुद्ध पत्रकारको भूमिका महत्वपूर्ण भएकाले यसलाई अझ प्रभावकारी बनाएर लैजानुपर्ने उनले बताए ।

मन्त्री आलेले राज्यले सहयोग गर्यो भन्दैमा राज्य विरुद्ध लेख्न हुँदैन भन्नु गलत भएको बताए । उनले सोसल मिडियामा आएको विषयवस्तुलाई मात्र आधार बनाएर समाचार बनाइनु गलत भएको उल्लेख गरेका छन् । आधारहीन समाचारले पत्रकारिता क्षेत्र नै धुमिल भएको तर्क उनको छ ।

‘पत्रकारिताको धर्म र मर्म अनुसार सत्यतथ्यमा आधारित समाचार आउनुपर्छ । तर यहाँ केहि पत्रकारले गलत सूचनाका आधारमा समाचार लेख्दा समग्र पत्रकारिता क्षेत्रमा नै असर पुर्याएको छ ।’, आलेले भने ।

मन्त्री आलेले नेपाली काँग्रेस नेतृत्वको गण्डकी सरकारले नै प्रेसमैत्री आम संचार विधेयक पास गर्ने बताए । अहिलेको बजेटमा पत्रकारहरुको जीवन बीमा र लेखन वृतिका लागि बजेट विनियोजन गरिएको जानकारी गराए ।

नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष एवम् प्राध्यापक डा.सुरेश आचार्यले पत्रकार र पत्रकार महासंघको सदस्य फरक कुरा भएको बताए । उनले सबै पत्रकारहरु महासंघको सदस्य हुन्छन् भन्ने नभएको उल्लेख गरे । व्यवसायिक पत्रकारिता आजको आवश्यकता भएको भनाई उनको छ ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले संस्थाको भौतिक विकास र उन्नयनमा महत्वपूर्ण भूमिका खेलेका संस्थाहरुलाई वर्षेनी महासंघले सम्मान गर्दै आएको जानकारी गराइन ।

सोहि अनुसार यसपाली लक्ष्मी हाउसलाई सम्मान गरिएको भनाई उनको छ । उनले कास्कीका पत्रकारिताको व्यवसायिक विकासका लागि महासंघ क्रियाशिल भएर लागिरहेको बताइन् । पत्रकारिता क्षेत्रमा आएका चुनौतीलाई चिर्दै अगाडि बढिरहेको तर्क उनको छ ।

भण्डारीले पत्रकारिता क्षेत्रमा राज्यको ध्यान कमजोर हुँदा सोचेअनुरुपको परिवर्तन आउन नसकेको बताइन् । समाचार संकलनका क्रममा पत्रकार माथि हुने आक्रमणमा महासंघ चुप लागेर नबस्ने भनाई उनको छ । उनले कास्कीमा पनि शुद्धिकरणको म्याण्डेट अनुसार पत्रकारहरुको शुद्धिकरण गर्ने गरी अगाडि बढेको उल्लेख गरिन् ।

लक्ष्मी हाउस पोखराका अध्यक्ष गणेश बहादुर श्रेष्ठले सत्यमा आधारित समाचार प्रक्षेपण गर्न पत्रकारलाई अनुरोध गरेका छन् । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष समेत रहेका श्रेष्ठले पत्रकारका कारण नै विन्ध्यवासिनी उच्च स्थानमा रहेको बताए ।

विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको अगुवाईमा प्राकृतिक चिकित्सालय निर्माण गरी नागरिकलाई उपचारमा सहज बनाएको भनाई उनको छ । साथै लक्ष्मी हाउसलाई संस्थागत सम्मान गरेको प्रति उनले धन्यवाद दिएका छन् ।

कार्यक्रममा संस्थापक अध्यक्ष उमाकान्त शर्माले पत्रकारिता राजनीतिक विचारका आधारमा भन्दा पनि नागरिकको आवाजलाई बुलन्द बनाउने तवरले अगाडि बढ्नुपर्ने आवश्यकतालाई औंल्याएका छन् ।

उपाध्यक्ष रामप्रसाद तिमिल्सिनाले स्वागत गरेको कार्यक्रममा पूर्व अध्यक्ष बद्री विनोद प्रतिक लगायतले बोलेका थिए । सो अवसरमा महासंघ कास्कीले दुई दिनसम्म ‘पत्रकारितामा स्वार्थको टकराव’ विषयक कार्यशाला राखेको छ । बुधबार सम्म चल्ने कार्यशालामा युनिभर्सिटी अफ अटवा, क्यानाडाका प्राध्यापक डा. भानुभक्त आचार्य र नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष डा.सुरेश आचार्य, पत्रकार वाशुदेव मिश्रले सहजीकरण गरेका छन् ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्