राधाकृष्ण मन्दिर लामेआहालमा श्रीमद्भागवत महापुराण ज्ञानमहायज्ञ(सप्ताह) हुने

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । भक्तिगोविन्द भागवत श्री अध्ययन प्रतिष्ठानको आयोजनामा पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालस्थित राधाकृष्ण मन्दिरमा यही भदौ ३० गतेदेखि असोज ६ गतेसम्म श्रीमद्भागवत महापुराण ज्ञानमहायज्ञ (सप्ताह) हुने भएको छ ।

प्रतिष्ठानद्वारा आयोजित पत्रकार सम्मेलनमा बैदिक सनातन भागवत धर्म र संस्कृतिको संरक्षणार्थ भागवत जयन्तीको अवसर पारी ख्यातीप्राप्त कथावाचक ईश्वरकृष्ण महाराजबाट भागवत कथा वाचन गरिने प्रष्ठिानका उपाध्यक्ष विष्णुुप्रसाद पौडेलले जानकारी दिए ।

भावगत जयन्तीकै अवसरमा असोज ६ गते प्रतिष्ठानद्वारा गुरुकुल संस्कृत मा.वि. तह(कक्षा ९–१२) गण्डकी प्रदेशस्तरीय भागवत वाचन प्रतियोगिता समेत गर्न लागिएको सल्लाहकार माधवशरण उपाध्यायाले जानकारी दिए ।

प्रतियोगितामा स्तुतिप्रकरण, गद्यप्रकरण र शलाका माध्यमद्वारा सम्पूर्ण भागवत अन्तर्गत वाचन गर्नुपर्ने व्यवस्था गरिएको छ । उनका अनुसार स्तुतिप्रकरणमा वेदस्तुति दशमस्कन्धको ८७ अध्याय, भीष्मस्तुति प्रथमस्कन्धको ९ अध्याय र रासपञ्चाध्यायी दशमस्कन्धको २९, ३०, ३१, ३२ र ३३ अध्याय निर्धारण गरिएको छ । त्यस्तै गद्यप्रकरणमा भरतोपाख्यान पञ्मस्कन्धको ७, ८ र ९ अध्याय तोकिएको छ ।

भागवत वाचनको यति, गति, लय, शुद्धाशुद्धी र स्पष्टतालाई आधार मानिएको जानकारी गराउँदै उहाँले प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः ११ हजार, सात हजार ५००, पाँच हजार र तीन हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको बताए ।

प्रतिष्ठानका सल्लाहकार एवम् राधाकृष्ण मन्दिरका पीठाधिश प्राज्ञ मुकुन्दशरण उपाध्यायले बेद, गीता जस्ता धार्मिक ग्रन्थहरू नेपालमा नै लेखिएको कुरालाई हामीले प्रचारप्रसार गर्न नसकेको बताए ।

हाम्रा मौलिक संस्कार र संस्कृतिको जगेर्ना गर्नु अपरिहार्य भएको बताउँदै उहाँले ज्ञानमहायज्ञमा कथा श्रवण गरी लाभान्वित बन्न सबैलाई आग्रह गरे ।

प्रतिष्ठानका सल्लाहकार एवम् राधाकृष्ण मन्दिरका सह अध्यक्ष गणेशबहादुर खत्रीले प्रतिष्ठानले गर्न लागेको श्रीमद्भागवत् महापुुराण ज्ञानमहायज्ञ (सप्ताह) कुनै आर्थिक संकलनको उद्देश्यका साथ नभएको स्पष्ट पारे ।

महायज्ञका क्रममा भक्तजनबाट स्वतस्फुर्त प्राप्त भएको दान तथा सहयोग भने राधाकृष्ण मन्दिर, गुरुकुल आदिका लागि खर्च गरिने उनले जानकारी दिए ।

प्रतिष्ठानका अध्यक्ष भक्ति अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव रामचन्द्र सिग्देलले गर्नुुभएको थियो भने स्वागत उपाध्यक्ष विष्णुप्रसाद पौडेलले गरेका थिए ।

ज्ञान महायज्ञका लागि गठित उपसमितिमा अतिथि तथा मञ्च व्यवस्थापनतर्फ विष्णुुप्रसाद पौडेल, प्रचारप्रसारतर्फ रामचन्द्र सिग्देल, आवाश तथा प्रसाद व्यवस्थापनतर्फ घनश्याम खनाल र अर्थ व्यवस्थापनतर्फ शिशुकला पौडेल संयोजक रहेका छन्।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्