विन्ध्यवासिनी नवदुर्गा महोत्सव घटस्थापनादेखि

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा । राष्ट्रकै एक प्रमुख शक्तिपीठका रुपमा प्रसिद्ध विन्ध्यवासिनी मन्दिरमा विन्ध्यवासिनी नवदुर्गा महोत्सव हुदैछ । धार्मिक क्षेत्र विकास समितिको आयोजनामा यहि असाेज २८ गते घटस्थापनादेखि महाेत्सव शुरु हुने आज आयाेजित पत्रकार सम्मेलनमा मार्फत जानकारी गराईएकाे हाे ।

विजया दशमीको प्रारम्भ घटस्थापनाकाे दिन विन्ध्यवासिनी नवदुर्गा शोभायात्रा हुनेछ भने सोहि दिन श्रीमददेवी भागवत ज्ञान महायज्ञ प्रारम्भ भई नवमीका दिनमा सम्पन्न हुनेछ । यस महायज्ञमा प्रखर वक्ता युवा पंडित श्री हरिशरण पौडेलबाट संगीतमय झाँकी सहित श्रीमदद्देवी भागवतको कथा प्रस्तुत हुने धार्मिक क्षेत्र विकास समिति सचिव तीर्थ श्रेष्ठले जानकारी दिए  ।

शोभायात्रा बिहान ७:०० बजे विन्ध्यवासिनी पार्किङ् बाट शुरु भई मोहरिया टोल, भैरव टोल, भिमसेन टोल, नालामुख, तेर्सा पट्टी, महेन्द्रपुल, चिप्लेढुङ्गा, सिद्धार्थचोक, रामकृष्ण टोल, गणेश टोल, हुँदै विन्ध्यवासिनी मन्दिरको प्राङ्गणमा आई समापन हुनेछ ।

 उक्त शोभायात्रामा श्री नवदुर्गाका नौ रुपका रुपमा सिंगारिएका नवकन्या आरुढ नौ रथ, विन्ध्यवासिनी मन्दिरको झाँकी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल स्काउट, राष्ट्रिय सेवा दल, बटुकहरु, जलकलश सहित मातृशक्ति, विभिन्न आमा समूहहरु, सामाजिक, धार्मिक, जातीय, सांस्कृतिक, बैंक बित्तिय तथा सहकारी, शैक्षिक संघ संस्थाहरु, भजन समूहहरु, उद्योग वाणिज्य तथा वस्तुगत संघ संस्थाहरु लगायत पोखरेली जनजीवनका विविध पक्षको सहभागिता  रहने छ ।

विभिन्न सांस्कृतिक झाँकीहरुको सहभागीता मार्फत शोभायात्रालाई पोखरी सांस्कृतिक विविधताको अभिव्यक्तिको रुप दिने प्रयत्न आयाेजकले गरेकाे छ । कार्यकममा स्थानिय जनप्रतिनिधि तया राष्ट्रसेवक सरकारी कर्मचारीहरु समेत सहभागी हुनेछन् । शोभायात्रा बजारका विभिन्न भागमा पुगी फेरी विन्ध्यवासिनी मन्दिरमा पुगी समापन हुनेछ ।

विन्ध्यवासिनी मन्दिरको प्राङ्गणमा हुने महायज प्रत्येक दिन बिहान ९ बजेबाट मध्यान्ह १२ बजेसम्म र दिउसो २ बजेबाट अपरान्ह ४ बजेसम्म विभिन्न विद्धानहरु विन्ध्यवासिनी पीठाधीस स्वामी श्री निशेषानन्द जी महाराज, दार्शनिक वक्ता डा. भोलानारयण रेग्मी, दार्शनिक वक्ता जगन्नाथ रेग्मी,  कृष्णानुरागी आचार्य, पशुपती पौडेलहरुवाट कथा प्रवचन हुनेछ । यस यज्ञमा कर्ताको रुपमा श्री चन्द्ररमण पराजुली, उपवाचक श्री चिन्तामणि पौडेल, गणेश सृजन जोशी रहनेछन् ।

विजया दशमीको अवधिभर मन्दिरमा नित्य पूजा विहान ४:०० बजेबाट प्रारम्भ भई भक्तजनहरुका लागि दर्शनका लागि मन्दिर पूर्वान्ह ५ बजे बाट खुला गरिनेछ भने प्रत्येक साँझ ६:०० बजे आरती हुनेछ ।

मन्दिर परिसरमा बिहान ५:०० बजेबाट ९ बजेसम्म बाल गोपाल भजन मण्डल तथा विन्ध्यवासिनी महिला भजन समूह र विन्ध्यवासिनी भजन समूह लगायतबाट भजन किर्तन हुने आयाेजकले जनाएकाे छ ।

झण्डै २५० वर्ष पुरानो अनुमान गरिएको यस धार्मिक क्षेत्रको संरक्षण तथा विकास गर्ने उद्देश्यले वि.स. २०४३ मा गठन भई २०४८ सालमा संघ, संस्था एव दर्ता ऐन २०३४ अन्तर्गत जिल्ला प्रशासन कार्यालय कास्कीमा दर्ता भई क्रियाशील रहदै आएको छ ।

समितिले स्थापनाकाल देखि यहाँ सम्म आइपुग्दा शिव मन्दिर, राधाकृष्ण मन्दिर, सन्त निवास, विन्ध्यवासिनी गुरुकुल विद्याश्रम भवन, विन्ध्यवासिनी बहुद्देश्यीय सभाभवन, अखण्ड हवन मण्डप, अष्टचिरञ्जिवी नवग्रह मन्दिर, यज्ञ मण्डपहरुको निर्माण सम्पन्न गरेको छ ।

शौचालयहरु, पानीको लागि बोरिङ् तथा खानेपानी भण्डारणको लागि ४० हजार लिटर क्षमताको टंकी निर्माण सम्पन्न गरेको छ । मन्दिर परिसरमा ढुङ्गा छाप्ने कार्य, जलधारा, किति स्तम्भ, विशाल त्रिशुल र शक्ति ध्वजा र विशाल कमण्डलुको स्थापनाका साथै विन्ध्यवासिनी मन्दिर र गणेश मन्दिरमा पित्तल द्वारा कलात्मक सजावट र पित्तलको द्वार निर्माण गरिएका छन् ।

भक्तजनहरुको सुविधा र सौन्दयिंकरणका लागि प्रदक्षिणा पथ तथा अपाङ्ग, अशक्त र ज्येष्ठ नागरिकहरुको लागि लिफ्टको व्यवस्था गरिएको छ । विन्ध्यवासिनी वाटिका निर्माण गरि त्यसमा पानीको फोहोरा र (Water Fountain ) र शिवानन्द कुण्डको निर्माण गरिएको पत्रकार सम्मेलनमा जानकारी दिईयाे ।

त्यसै गरी यस समितिले २०५१ सालबाट विन्ध्यवासिनी गुरुकुल विद्याश्रम संचालन गर्दै आएको छ २०७२ सालवाट विन्ध्यवासिनी ज्येष्ठ नागरिक मिलन केन्द्र २०७१ सालवाट विन्ध्यवासिनी एम्बुलेन्स सेवा तथा विन्ध्यवासिनी प्राकृतिक चिकित्सालय संचालन गरि सामाजिक सेवाको क्षेत्रमा समेत आफ्नो संलग्नता कायम राखेको छ ।

 यस महोत्सवबाट सांस्कृतिक सद्भावको अभिवृद्धि, धर्म, संस्कृति र परम्पराको संरक्षण तथा धार्मिक पर्यटनको विकासमा महत्वपूर्ण योगदान पुग्ने आयाेजककाे विश्वास छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्