आज दशैंको सातौं दिन, घरघरमा फूलपाती भित्र्याइँदै

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा । आज नवरात्रको सातौं दिन अर्थात् सप्तमी, शक्तिपिठ र घरघरमा शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाईंदैछ ।

हरेक वर्ष दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन फूलपाती पर्व मनाइन्छ ।

फूलपातीकाे दिन हरेक घर‚ दशैंघर तथा शक्तिपीठमा फूलपाती भित्र्याउने र तिनका पत्रले देवीहरूलाई स्नान गराउने परम्परा छ । आश्विन शुक्ल सप्तमीकाे अवसरमा घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैंघरमा आज फूलपाती भित्र्याइँदैछ ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआराधना गरिएको दशैंघर अथवा पूजा कोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष  भित्र्याइन्छ । नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नाैवटी देवीको प्रतीकका रुपमा फूलपाती भित्र्याएपछि नौदेवीको विधिपूर्वक पूजा आराधना गरिन्छ ।

देशका विभिन्न शक्तिपिठहरुमा नवदुर्गा पूजा समेत भईरहेकाे छ ।

नवरात्रकाे साताैं दिन आज कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना पनि गरिँदै छ । नवरात्रका ९ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । हरेक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गरिन्छ ।

९ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ ।

नवरात्र अर्थात दशैंकाे पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । दुर्गाका यी ९ रुपलाई नवदुर्गा भनिन्छ ।

दशैंको खास दिन आजदेखि सुरू हुन्छ । चहपहल बढ्छ । फूलपातीको दिनदेखि सरकारी कार्यालयहरुमा सार्वजनिक बिदा हुन्छ । दशैंको टीका थाप्न आ-आफ्नो घर फर्किने क्रम पनि फूलपातीकाे दिनबाट तीब्र रूपमा बढ्छ ।

गाउँघरमा आजैका दिनदेखि दोबाटो, चौतारो र चौबाटामा हालिने लिंगेपिङ र रोटेपिङले दशैंको रौनकलाई अझ बढाउँछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्