पोखरामा झोलुङ्गे पुलका फोटो प्रदर्शनी

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

तारा पौडेल/पोखरा । नेपालमा भएका झोलुङ्गे पुलका पोखरामा फोटो प्रदर्शनी भएको छ । पूर्वाधार विकास निर्देशनालय, पोखराको आयोजना र झोलुङ्गे पुल सहयोग ईकाइको सहयोगमा मंगलवार भएको झोलुङ्गे पुलका फोटो प्रदर्शनीमा देशभरका इतिहासदेखि वर्तमानसम्मका ६० वटा झोलुङ्गे पुलका फोटोहरु राखिएका थिए ।

देशभर १० हजारभन्दा बढि झोलुङ्गे पुल निर्माण भएको अवसरमा फोटो प्रदर्शनी भएको टि.वि.एस.यु. का प्रादेशिक व्यवस्थापक नवराज मोक्तानले बताए ।पुरानो प्रविधिलाई विस्थापन गर्दै स्वीस सरकारको सहयोगमा पर्यटनको हिसाबले समय सापेक्ष झोलुङ्गे पुल निर्माण गरिएको मोक्तानको भनाई छ ।

झोलुङ्गे पुल निर्माण नेपालको सफल आयोजना भएको उल्लेख गर्दै उनले नेपालका प्राविधिक इन्जिनियरहरु स्वदेशमा मात्र नभई अन्तराष्ट्रिय मुलुक लाओस, भुटान, इथोपिया, बुरुन्डी लगायत २० देशमा गएर प्राविधिक सिप हस्तान्तरण गर्न सफल भएको बताए ।

उनले प्रदर्शनीमा राखिएका पुलका फोटोहरुले नेपालको भौगोलिकता र विकटतालाई समेत प्रतिविम्वित गरेको स्पष्ट पारे । ‘हरेक नागरिकले एक घण्टा बढीको दुरीमा खोला वारपार गर्नु पर्यो भने त्यस्तो ठाउँमा तत्कालै झोलुङ्गे पुल निर्माण हुनेछ ।’  मोक्तानले भने, ‘अब यसलाई घटाएर आधा घण्टाको दुरीमा ल्याउने प्रयास भइरहेको छ, गाउँगाउँमा झोलुङ्गे पुल बनेपछि गाउँको आर्थिक बिकासमा टेवा पुग्छ भने कृषि उत्पादनलाई प्रोत्साहन मिल्दछ ।’

स्वीस सरकार विकास सहयोग (SDC) ले हेल्भेटास नेपाल मार्फत उपलव्ध गराएको प्राविधिक सहयोगमा नेपाल सरकारले १९८९ देखि गर्दै आएको झोलुङ्गे पुल निर्माणमा राखेका लक्ष्य प्राप्त गरे पनि आवश्यकता भने अझै पूरा भइनसकेको बताउँदै उनले अव यस पछाडी काम प्रोभिसियल टेक्निकल एसिस्टेन प्रोभाईडर (PTAP) ले गर्ने बताए ।

उनले आगामी विहिवार १० हजार भन्दा बढि झोलुङ्गे पुलको उद्घाटन गरिने र जसका लागि सिन्धुली जिल्लाको मरिङ खोलाको एनटाईपको झोलुङ्गे पुललाई छनौट गरिएको बताए ।

गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले ऐतिहासिक सफलता भएको बताए । पूर्खाहरुले झेल्नुपरेका आरोहअवरोह स्मरण गर्दै उनले हाम्रो आवश्यकता र चाहाना अनुसार बदलिएको अवस्था जनस्तरसम्म पुर्‍याउन फोटो प्रदर्शनी निकै महत्वपूर्ण भएको उल्लेख गरे ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव ई.शंकरप्रसाद पण्डितले प्रदर्शनीमा झोलुङ्गे पुलमा भएका प्रगती, फोटोग्राफ, लगायतका जानकारीहरु राखिएको बताए ।

पूर्वाधार विकास निर्देशनालय पोखराका निमित्त निर्देशक डा. महेन्द्रबहादुर बाँनियाले झोलुङ्गे पुलको निमार्णले व्यापार/व्यवसाय, आन्तरिक तथा बाहय पर्यटनमा वृद्धि, जनताको आयआर्जनमा वृद्धिसँगै समयको समेत बचत गर्ने बताए ।

देशभर निर्माण भएका दश हजार बढी झोलुङ्गे पुलमध्ये १३ सय बढी पुल गण्डकी प्रदेशमा निमार्ण भएको बताईएको छ । सरकार संघीय संरचना गइसकेपछि ४०० वटा झोलुङ्गे पुल गण्डकी प्रदेशमा निर्माण भएको आयोजकले जनाएको छ । फोटोहरुलाई स्वदेशी एवं विदेशी पर्यटकहरुले रुचीका साथ अवलोकन गरेका छन् ।

लेकसाइडको बाराहीघाटमा भएको झोलुङ्गे पुल फोटो प्रदर्शनी कार्यक्रमको सञ्चालन पूर्वाधार विकास निर्देशनालयका भरतप्रसाद भुसालले गरेका थिए ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्