यमपञ्जक सुरु : आज काग तिहार

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । हिन्दुहरुको दोस्रो महान चाड तिहार (यमपञ्चक) आज शनिवारदेखि सुरु भएको छ ।

 

यमपञ्चकको पहिलो दिन आज काग तिहार ।  कागलाई मनपर्ने परिकार भोजन गराएर कागको पूजा गरिँ पहिलो दिन काग तिहार मनाइदै छ ।

 

कात्तिक कृष्ण त्रयोदशीका दिन कागपूजा गरिन्छ । कागलाई यमराजको दूतको रुपमा मानिन्छ । धर्मशास्त्रअनुसार यमराजले राखेको मानिसको जन्म मृत्युको विवरण पृथ्वीसम्म ल्याउने र लैजाने काम कागले नै गर्ने मान्यता रहेको छ ।

 

 कागलाई सन्देश वाहकको रुपमा हेरिने भएकाले शुभ सन्देशको अपेक्षा गर्दै कागको पूजा गरिन्छ । आज घरमा पाकेका सबै परिकारहरू दुना, टपरी, पातमा राखेर कागलाई घरको कौसी वा आँगनमा का का का भन्दै बोलाएर खान दिइन्छ ।  निकै चतुर पंक्षीका रूपमा कागलाई लिइन्छ ।

 

यसै दिन आयुर्वेदका प्रवर्तक धन्वन्तरी जयन्ती परेकाले जयबागेश्वरीस्थित धन्वन्तरी पीठमा अर्चना गरेर मनाइँदैछ । यसै दिन मुलुकभर आरोग्य दिवस मनाउने गरिएको छ ।

 

कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितियासम्मको पाँच दिन यमराज आफ्ना सबै काम छाडेर बहिनी यमुनाकहाँ अतिथिका रुपमा बस्ने भएकाले यो पाँच दिनलाई यमपञ्चक भन्ने गरिएको हो ।

 

यमपञ्चकको यस अवधिमा आइतबार बिहान नरक चतुर्दशी परेकाले सूयोदयपूर्व पवित्र नदीमा गएर स्नान गरेर नर्क बगाएमा नरकमा पर्नु पर्दैन भन्ने विश्वास पनि छ ।

 

 आइतबार यमराजको द्वारपालका रूपमा कुकुरको पूजा गर्ने र साँझमा घर घरमा दिपावली गरेर लक्ष्मी पूजा गर्ने गरिन्छ ।

 

यस वर्ष सोमबार गाईपूजा र मङ्गलबार गोवर्धन पूजा परेको छ । नेवारी समुदायले यसै दिन म्हः पूजासमेत गर्छन् । २९ गते बुधबार १० बजेर ५१ मिनेटमा भाइटीकाको साइत छ ।

 

सो साइतमा दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै सप्तरङ्गी टीका र कहिल्यै नओइल्याउने मखमली फूलको माला लगाइदिने प्रचलन छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्