इरान बम विस्फोटमा १०३ जनाको मृत्यु

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

एजेन्सी/इरान । हत्या गरिएका जनरल कासिम सुलेमानीको वार्षिक स्मृतिमा आयोजित भीडमा लगातार दुई वटा विस्फोट हुँदा इरानमा बुधबार कम्तीमा एक सय तीन जनाको मारिएको सरकारी मिडियाले बताएको छ ।

आधिकारिक आइआरएनए समाचार एजेन्सीले यसअघि ७३ जनाको मृत्यु भएको सूचना दिएको थियो । एजेन्सीले भनेको छ, ‘आतङ्कवादी विस्फोटमा घाइते भएका मानिसको मृत्यु भएपछि मर्नेहरूको सङ्ख्या बढेर एक सय तीन पुगेको छ ।’

बम विस्फोटमा अन्य एक सय ४१ जना घाइते भएको र केहीको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

इरानका जनरल कासिम सुलेमानीको दक्षिणी गृहनगर केरमानमा साहेब अल–जमान मस्जिद नजिकै विस्फोट भएको हो । उक्त मस्जिदमा सुलेमानीको शव गाडिएको छ ।

 

बगदाद विमानस्थलको ठिक बाहिर अमेरिकी ड्रोन हमलामा भएको उनको हत्याको चौथो वार्षिकी मनाउन मस्जिदमा मानिसहरू भेला भएका बेला विष्फोट भएको थियो । आक्रमणको जिम्मेवारी तत्काल कसैले लिएको छैन ।

इरानको समाचार एजेन्सी तस्निमले भनेको छ, ‘बमले भरिएका दुईवटा ब्यागमा विस्फोट भयो, यो घटनाका अपराधीहरूले रिमोट कन्ट्रोलमार्फत बम विस्फोट गराएको देखिन्छ ।’

सरकारी टेलिभिजनले उक्त विस्फोटलाई ‘आतंकवादी हमला’ भनेको छ । इरानको सहयोगी हमासका दुई नम्बरका नेता सालेह अल–अरुरी बेरुतमा ड्रोन हमलामा मारिएको एक दिनपछि इरानमा उक्त विस्फोट भएको हो ।

लेबनानी अधिकारीहरूले बेरुतमा भएको ड्रोन हमला इजराइलले गराएको आरोप लगाएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्