कोरोना उपचारमा असफल गण्डकी : संघलाई चुनौती दियो, नागरिकलाई उपचार दिएन

  • ख-
  • ख+

प्रकाश ढकाल ।पोखरा, २० कात्तिक ।  संघ सरकारले कोरोना उपचार र परीक्षणको रकम नागरिक आफैले बुझाउनुपर्ने निर्णय गर्‍याे । त्यसपछि धमाधम अस्पतालहरुले उपचारको शुल्क असुल्न थाले । गण्डकी सरकारले संघलाई चुनौती दिँदै भन्यो–‘हाम्रा नागरिकको उपचार हामी निःशुल्क गर्छौं । कत्ति पनि पैसा तिर्नुपर्दैन ।’

सोही दिन मुख्यमन्त्रीले आफ्नै प्रेस संयोजकको स्टाटस शेयर गरे । त्यहाँ लेखिएको थियो–‘गण्डकी प्रदेशमा कोरोना भाइरस रोग (कोभिड १९) का बिरामीको उपचार निःशुल्क भइरहेको छ । नागरिकप्रतिको दायित्व पूरा गर्नबाट गण्डकी सरकार पछि हटेको छैन । गण्डकीका ३८ ठाउँका आइसोलेसनबाट उपचार जारी छ । कोरोनाको पिसिआर परीक्षण र उपचार खर्च गण्डकी सरकारले नै व्यहोर्दै आएको छ । यो सेवा निरन्तर हुन्छ । कसैमा द्विविधा नहोस् ।’

कात्तिक ४ मै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले कोरोना उपचारका लागि शुल्क तोक्यो र धरौटी समेत बुझाउनुपर्ने उर्दी जारी गर्‍यो । केही समय मुख्यमन्त्री र निर्देशकबीच ठाकठुक पनि चल्यो । मुख्यमन्त्रीले प्रतिक्रिया दिँदै भने, ‘पश्चिमाञ्चल अस्पताल संघ मातहत छ । त्यसैले प्रदेशसँग जोरी खोज्यो ।’ तर उनैले बोर्ड फेरेर संक्रामक रोग अस्पताल बनाएको लेखनाथस्थित तत्कालीन लेखनाथ सामुदायिक लायन्स अस्पतालबाट अहिलेसम्म कोरोना संक्रमितको उपचार हुन पाएको छैन । आफू मातहत रहेको अस्पतालको सुविधा बढाउन नसक्ने तर अर्काको मातहतमा रहेका अस्पताललाई धारे हात तेस्र्याएर महामारी गुजारेको ७ महिना बितिसक्यो । सामान्य ज्वरो र रुघाखोकी लाग्दा समेत संक्रामक रोग अस्पतालका बिरामी पश्चिमाञ्चल रेफर गरिन्छ । बिरामी जटिल अवस्थामा पुगे त्यहाँ उपचार गर्ने उपकरण छैन ।

स्वास्थ्य निर्देशनालयका अनुसार निजी र सरकारी गरी यहाँका १५ अस्पतालमा १ सय ८६ बेड आइसियू छ भने ५४ बेड मात्रै भेन्टिलेटर छ

स्वास्थ्य निर्देशनालयका अनुसार निजी र सरकारी गरी यहाँका १५ अस्पतालमा १ सय ८६ बेड आइसियू छ भने ५४ बेड मात्रै भेन्टिलेटर छ । धवलागिरि अस्पतालमा ३ आइसीयू र ३ भेन्टिलेटर, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा १९ वटा आइसीयू र ५ वटा भेन्टिलेटर, गोरखा अस्पतालमा २ आइसीयू र १ भेन्टिलेटर छ । अरु सबै निजी अस्पतालका हुन् । भएका आइसीयू र भेन्टिलेटर समेत भरिन लागेका छन् । सरकारले आइसीयू कक्ष बनाउन सबै जिल्ला अस्पतालमा पैसा पठाएको छ । अधिकांशले अहिलेसम्म उपकरण जोडेका छैनन् । जोडेका उपकरण पनि जनशक्ति नहुँदा सञ्चालनमा आएको छैन ।

पोखरा महानगरपालिका वडा १० का वडासदस्य सम्मरबहादुर श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएपछि पोखराकै चरक मेमोरियल अस्पतालमा उपचारका लागि भर्ना भए । १९ दिन उपचार र १० दिन आराम गरेर घर फर्किएका उनको ११ लाखभन्दा बढी खर्च भयो । ‘अक्सिजनको मात्रै २ लाख ९० हजार सकियो । डाक्टर आएपिच्छे महँगो शुल्क । नर्सलाई छुट्टै तिर्नुपर्ने,’ उनले भने, ‘अरु समयभन्दा दोब्बर महँगो खर्च लाग्यो । थोरै पनि छुट दिएनन् ।’ अहिले पोखराका सबै निजी अस्पतालले पनि चर्को शुल्क असुलिरहेका छन् । चर्को शुल्क लिए पनि यहाँका अस्पतालमा सजिलोसँग उपचारको शैय्या (बेड) पाउन मुश्किल छ । ‘पैसा हुने त जसोतसो बाँच्ला । पैसा नहुनेले यत्रो खर्च कसरी गर्न सक्छ ?,’ उनले भने, ‘पैसा नभए तड्पिएरै मर्ने दिन आयो ।’

महामारीको सुरुवातताका पोखराका निजी अस्पतालहरु ज्वरो आएका बिरामीसँग पनि तर्सिए । कोरोनाको उपचार त परको कुरा, सामान्य रुघाखोकी लिएर आएका बिरामी समेत गेटबाटै फर्किनुप¥यो । सरकारले त्यतिबेला निःशुल्क उपचार गर्नुपर्ने प्रस्ताव गरेको थियो । तर अहिले यहाँका सबैजसो निजी अस्पतालमा कोरोनाको उपचार प्राथमिकतामा छ । महानगरले दिएको तथ्यांक अनुसार गण्डकी मेडिकल कलेजमा १ सय ७१ बेड कोरोना उपचारका लागि छुट्याइएको छ भने मणिपाल शिक्षण अस्पतालले १ सय तथा चरकसँग ३० र फिस्टेल अस्पतालले ९ बेड कोरोना उपचार गर्न तोकेको छ । यी सबै बेडमा उपचार गर्दा नागरिकले चर्को शुल्क तिर्नुपर्छ ।

सरकारी अस्पतालमा भने मुस्किलले १ सय बेड पु¥याउन लागिएको छ । यसअघि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ४० र संक्रामक रोग अस्पतालमा २५ बेड थियो । अहिले दुवै अस्पतालमा अक्सिजनको पाइपलाइन विस्तार गरेर बेड थप्न लागिएको छ । पश्चिमाञ्चलमा ४० र संक्रामक रोग अस्पतालमा पनि उति नै संख्यामा बेड तयार गर्न लागिएको हो । यसका लागि पोखरा महानगरपालिकाले ५–५ लाख दिएको छ भने पश्चिमान्चलमा थप स्वास्थ्यकर्मी भर्ना गर्न ८ लाख दिएको छ । १० जना स्वास्थ्यकर्मीको ३ महिनासम्मको तलब महानगरले ब्यहोर्ने मेयर मानबहादुर जिसीले बताए ।

‘सबै अस्पताल संघ र प्रदेशको मातहत छ । कोरोना उपचारको जिम्मा हामीलाई छैन । अस्पतालहरुले राम्रो व्यवस्थापन र उपचार गर्न सकेनन्,’ उनले भने, ‘बरु अलिअलि सहयोग गरेर उपचार राम्रो होला कि भन्ने आस छ । धेरै नसके पनि टोकन मनीको रुपमा महानगरले सघाएको हो ।’ उनले पोखरामा कोरोना संक्रमणले भयावह अवस्था निम्त्याएको बताए । ‘कोरोना हाम्रो नियन्त्रणमा छैन । अन्तिम अवस्थासम्म जुध्ने हो,’ जिसीले थपे, अवस्था डरलाग्दो छ । नियन्त्रणभन्दा बाहिर गैसक्यो ।’ संक्रमण दैनिक अस्वभाविक रुपमा बढ्न थालेपछि लकडाउन गर्ने छलफल भैरहेको छ ।

स्वास्थ्य सेवा ऐन, २०७५ ले संक्रामक र आधारभूत स्वास्थ्य सेवा निःशुल्क हुर्ने ब्यवस्था गरेको छ । तर निःशुल्क सेवा दिने त परकै कुरा अस्पतालले ढाड सेकिने गरी शुल्क असुल्दा पनि सरकार टुलुटुलु हेरेर बसेको छ । ‘निजी अस्पताल र मेडिकल कलेजहरुलाई हामीले चलाउन पाउँदैनौ । माथिको सरकारले सम्झौता गरेर नियमन गरिदिए सजिलो हुन्थ्यो,’ सामाजिक बिकास मन्त्री नरदेवी पुनले भनिन्, ‘आफ्नो अधिकारभन्दा बाहिर गएर अनुगमन गरे पनि ती अस्पताललाई नमस्ते गर्ने बाहेक केही गर्न सकिन्न ।’ पोखराका निजी अस्पतालहरुले कोरोना उपचारका लागि आफूखुसी मूल्य तोकेका छन् । अस्पताल हेरी १ देखि डेढ लाखसम्म धरौटी र दैनिक २५ देखि ५० हजारसम्म उपचार शुल्क लिएका छन् । संघ सरकारले दैनिक १५ हजारभन्दा बढी शुल्क नलिन निर्देशन गरेको छ । तर यसको अनुगमन र कारबाही सम्बन्धित निकायबाट भएको छैन ।

बुधबार एकैदिन ६ जना संक्रमितको मृत्यु भयो

‘मणिपाल अस्पतालको अनुगमन गर्‍यौं । केही कमजोरी सुधार्न भनेका छौं,’ कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले भने, ‘अरु अस्पताललाई पनि बोलाएर कसरी सस्तो गर्न सकिन्छ भनेर छलफल आयोजना गर्छौं ।’ अस्पतालको शुल्क आफूले तोक्न नसक्ने उनको प्रतिक्रिया छ । ‘निजी अस्पतालले संघ सरकारको निर्देशन नमान्न पनि सक्छ । हामी त्यसमा के गर्न सकिन्छ भनेर कुराकानी गर्छौं,’ उनले भने, ‘अस्पतालका सुविधा हेरेर स्वास्थ्यकर्मीको सुझावका आधारमा निर्णय लिन्छौं ।’

गण्डकी सरकारले निःशुल्क उपचारको निर्णय गरे पनि आफू मातहत अस्पताल र पूर्वाधार नहुँदा निर्णय त्यसै खेर गएको छ । ‘अरु प्रदेशमा क्षेत्रीय अस्पताल प्रदेश मातहत छन् । हाम्रो क्षेत्रीय अस्पताल प्रतिष्ठान मातहत छ । हाम्रो केही पनि छैन,’ सामाजिक विकास मन्त्री पुनले भनिन्, ‘केही गर्न नसके पनि बिरामीलाई अक्सिजन दिनुपर्छ भनेर पाइप जोडिरहेका छौं । सरकार हात बाँधेर बसेजस्तो गर्नुहुन्छ । सरकारलाई धेरै दुःख छ ।’

अहिले गण्डकीमा दैनिक ३ सयभन्दा बढी संक्रमित थपिएका छन् भने २ देखि ४ जनासम्मको मृत्यु हुने गरेको छ । बुधबार एकैदिन ६ जना संक्रमितको मृत्यु भयो । सरकारले आइसोलेसन व्यवस्था गर्न नसक्दा अधिकांश संक्रमित घरमै छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्