पोखरा । पोखरामा आउँदो शनिबार देखि तेस्रो संस्करणको क्रस कन्ट्री दौड सुरु हुँदैछ ।
हिमालयन टुरिजम फोरमको आयोजनामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । नेपाल र मित्रराष्ट्र चीनका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय प्रतियोगिता ४ विधामा हुनेछ ।
५० किलोमिटर समूहगत र व्यक्तिगत, विद्यार्थी दौड, पाँच किमी र ह्यप्पी रन समूहमा दुई किमी दौड हुने आयोजकले जनाएको छ । समूह विजेताले चार लाख ५८ हजार, उपविजेताले तीन लाख ४३ हजार, व्यक्तिगत विजेता महिला र पुरुषले समान एक लाख ५२ हजारका दरले पुरस्कार पाउनेछन् ।
विद्यार्थीतर्फको प्रतिष्पर्धाका विजेताले ३० हजार पाउने छन् । ५० किलोमिटर पर्वतीय दौड पोखराको लेकसाइडस्थित बाराहीघाटबाट सुरु भएर छोरेपाटन, रामदी, फुस्रेखोला हुँदै स्याङ्जाको फेदीखोला, पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दी, शान्ति स्तूपबाट फेवाताल, पामे हुँदै पुनः बाराहीघाट आएर सम्पन्न हुनेछ । प्रतियोगितामा सहभागी हुने चिनियाँ खेलाडी विमान चार्टर गरेर पोखरा आउने प्रतियोगिताका संयोजक विश्वशंकर पालिखेले जानकारी दिए ।
प्रतियोगिताले नेपाल र चीनबीचको युुगौंदेखिको सम्बन्धलाई थप प्रगाढ बनाउनुुका साथै पर्यटन प्रवद्र्धनमा योगदान पुर्याउने विश्वास व्यक्त गरे । अनुमानित तथ्यांक अनुसार नेपालमा आउने चिनियाँ पर्यटकमध्ये ४० प्रतिशतले पोखरामा भ्रमण गर्ने गरेका छन् । उनीहरु साहसिक खेलमा रमाउन पोखरा आउने गरेका होटल संघका अध्यक्ष तथा आयोजक समेत रहेका लक्ष्मण सुवेदी बताउँछन् ।
क्रस कन्ट्री प्रतियोगिताले पोखरासहित समग्र मुलुकको पर्यटकीय क्षेत्रको चीनमा प्रवर्द्धन हुने पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी बताउँछन् । क्रसकन्ट्री रेसका लागि चीनबाट सिछुवान विमान सेवाको विमान चार्टर गरेर एक सय ४० जना खेलाडी विहीबार दिउँसो पोखरा विमानस्थलमा अवतरण गर्नेछन् । प्रतियोगिताकै क्रममा भोलिदेखि तीन दिनसम्म ‘पोखरा–कुन्मिङ इन्टरनेशनल फ्रेण्डसीप सिटिज लिग’ हुनेछ । पोखरा पर्वतीय संग्राहालयमा युनानका पर्वतीय वस्तु तथा स्रोतसम्बन्धी प्रदर्शनी पनि हुनेछ ।