पोखरा उद्योग वाणिज्य संघको आसन्न ३६औँ महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार उत्तम मान बुद्धाचार्यलाई अत्यधिक मतले विजय गराऔं ।

अनुभवको बलमा उत्तममानको दाबी

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा ।
पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानको दिन नजिकिँदै गर्दा अध्यक्ष पदका उम्मेदवार उत्तममान बुद्धाचार्यले आफ्नो अभियानलाई अनुभव, परिपक्वता र व्यवसायीको विश्वासमा केन्द्रित गरेका छन्।

लामो समयदेखि व्यवसायमा सक्रिय बुद्धाचार्यले संघको कार्यसमिति सदस्य, वाणिज्य उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्षको जिम्मेवारीसमेत सम्हालिसकेका छन्। संघको नेतृत्व तहमा हासिल गरेको अनुभवलाई अब अध्यक्षको भूमिकामा उपयोग गर्ने उनको तयारी छ ।

निर्वाचनको पूर्वसन्ध्यामा व्यवसायीहरूसँगको भेटघाटलाई तीव्र बनाएका बुद्धाचार्यले घरदैलोबाट प्राप्त उत्साहले आफूलाई थप जिम्मेवार बनाएको बताएका छन्। “घरदैलोमा उत्साह छ । मनमा अठोट छ । मतदातामा विश्वास छ,” उनले भनेका छन्।

उनले आफ्नो नेतृत्वमा संघलाई सबै उद्योगी व्यवसायीको भरोसा र विश्वासको साझा घर बनाउने बताएका छन्। व्यवसायीका समस्या सुन्ने, सम्बन्धित निकायसँग निरन्तर संवाद गर्ने र आवश्यकताअनुसार नीतिगत तहमा प्रभावकारी पैरवी गर्ने संघको भूमिका अझ बलियो बनाउनुपर्ने उनको जोड छ।

“विगतका उपलब्धि र राम्रा कामहरूको जगमा हामीले हाम्रा उद्योगी, व्यवसायीको हक, हित र निर्वाध रूपमा कसैसँग नडराई आफ्नो पेशा, व्यवसाय सञ्चालन गर्न पाउने वातावरणको निर्माण गर्न हातेमालो गर्नुछ,” बुद्धाचार्यले भनेका छन्।

संघ, प्रदेश तथा स्थानीय सरकारसँग निरन्तर संवाद, समन्वय र सहकार्य गर्दै उद्योग व्यवसायीमैत्री नीति निर्माण र कार्यान्वयनका लागि प्रभावकारी पैरवी गर्ने उनको प्रतिबद्धता छ। साथै, सबै व्यवसायीको अपनत्व हुने साझा संस्थाका रूपमा संघलाई अघि बढाउने उनको योजना छ।

बुद्धाचार्यले घरदैलोका क्रममा सकेसम्म सबै उद्योगी व्यवसायीसम्म पुग्ने प्रयास गरे पनि समय अभाव र पछिल्लो परिस्थितिका कारण कतिपय व्यवसायीको व्यवसायिक आँगनसम्म पुग्न नसकेको बताएका छन्। तर, आफू निर्वाचित भएपछि व्यवसायीसँगको भेटघाट र संवाद संघमै निरन्तर रहने उनको भनाइ छ।

“आएन, भेटेन, मागेन भनेर मन सानो नबनाइदिनुहुन अनुरोध गर्दछु। म संघको अध्यक्ष भएपछि हामी भेटिनेछौँ। संघ हामी सबैको साझा घर हो। बाँकी छलफल हामी पक्कै पनि संघमै बसेर गर्नेछौँ,” उनले भनेका छन्।

भोलि हुने मतदानसँगै संघले नयाँ नेतृत्व पाउनेछ। निर्णायक मतदानअघि बुद्धाचार्यले आफ्नो लामो व्यावसायिक यात्रा, संस्थागत अनुभव र परिपक्व नेतृत्वलाई आधार बनाउँदै उद्योगी व्यवसायीसँग अन्तिमपटक मत मागेका छन्।

“जे गर्छौँ, सबै मिलेरै गर्ने हो। यहाँका सुझाव हिजो पनि शिरोपोर थिए, भोलि पनि हुनेछन्,” बुद्धाचार्यले भनेका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्