पोखरा उद्योग वाणिज्य संघको आसन्न ३६औँ महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार उत्तम मान बुद्धाचार्यलाई अत्यधिक मतले विजय गराऔं ।

पोखरा उद्योग वाणिज्य संघको महाधिवेशन सुरु, नेतृत्वका लागि चार जनाबीच प्रतिस्पर्धा

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशन सुरु, लगानी सुरक्षामा जोड
पोखरा । ‘लगानीको संवर्द्धन, उद्योग व्यवसायको प्रवर्द्धन’ भन्ने नारासहित पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशन तथा ७२औँ वार्षिक साधारण सभा शनिबारदेखि सुरु भएको छ।

महाधिवेशनको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले रसुवा र भोटेकोशी क्षेत्रका बाढी प्रभावितको राहत तथा पुनःस्थापनाका लागि उद्योगी–व्यवसायीलाई मन फुकाएर सहयोग गर्न आग्रह गरे।

उनले बाढीका कारण रसुवादेखि नवलपुरसम्मका नागरिक प्रभावित भएको र प्रभावितको अवस्था अत्यन्तै दयनीय रहेको बताए। ‘हिजोका करोडपतिहरू बाढीका कारण अहिले चाउचाउ र चिउरा मागेर खाने अवस्थामा पुगेका छन्,’ उनले भने, ‘पुनःनिर्माणका लागि महासंघले सरकारसँग मिलेर काम गर्नेछ। तपाईं सम्पूर्ण व्यवसायीहरूले पनि मनकारी भएर सहयोग गर्नुस्।’

श्रेष्ठले राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्न विश्वका ७० वटा उद्योग वाणिज्य संघलाई पत्राचार गरी अपिल गरिएको जानकारी दिए।
जलवायु परिवर्तनका कारण नेपालले ठूलो वातावरणीय संकट सामना गरिरहेको उनको भनाइ थियो। विश्वव्यापी जलवायु परिवर्तनमा नेपालको योगदान न्यून भए पनि त्यसको असर नेपालले ठूलो मात्रामा भोगिरहेको उनले बताए। विपद्को जोखिम रहेका हिमतालको व्यवस्थापनमा राज्य, समाज र निजी क्षेत्र गम्भीर हुनुपर्नेमा उनले जोड दिए।

महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले निजी क्षेत्रको सुरक्षाका लागि महासंघ र उद्योग वाणिज्य संघले प्रभावकारी रूपमा आवाज उठाउनुपर्ने बताए। राजनीतिक अस्थिरता र प्राकृतिक विपद्का बेला उद्योगी–व्यवसायी नै बढी प्रभावित हुने भएकाले लगानी सुरक्षाको वातावरण निर्माणमा नेतृत्वले विशेष भूमिका खेल्नुपर्ने उनको भनाइ थियो।
पर्यटन क्षेत्रसमेत प्रभावित हुने अवस्था देखिएको भन्दै मुल्मीले पोखराको अर्थतन्त्रमा त्यसको असरबारे समयमै गम्भीर भएर सोच्नुपर्ने बताए।

नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले प्राकृतिक विपत्ति प्रभावित क्षेत्रबाहेक नेपालका अन्य पर्यटकीय गन्तव्य सुरक्षित रहेको सन्देश विश्वभर पुर्‍याउनुपर्ने बताए। नेपालको पर्यटन प्रवर्द्धनका लागि आफूले निरन्तर योगदान गर्ने प्रतिबद्धता पनि उनले जनाए।

संघका अध्यक्ष गोकर्ण कार्कीले संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत बाढी प्रभावितको राहतका लागि २ लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरे।

कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव तीर्थ श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो। संघका उत्कृष्ट कर्मचारी सहायक निर्देशक सुनील क्षेत्री, सूचना अधिकृत वासुदेव मिश्र र प्राविधिक सहायक टीकाराम सुवेदीलाई नगदसहित पुरस्कृत गरिएको थियो।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष नरेश कँडेल, कास्कीका प्रमुख जिल्ला अधिकारी कुमबहादुर गुरुङ, पोखरा महानगरपालिकाको आर्थिक महाशाखाका प्रमुख मनहर कडरिया र गण्डकी प्रदेशकी प्रेस रजिस्ट्रार विमला भण्डारीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

महाधिवेशनको बन्द सत्रमा महासचिव शोभा गौतमले वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष मनोजकुमार श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ।

निर्वाचन समितिका संयोजक दामु अधिकारीका अनुसार संघको नयाँ नेतृत्व चयनका लागि आइतबार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ।

अध्यक्ष पदका लागि बलराम आचार्य, शोभा गौतम, उत्तममान बुद्धाचार्य र अर्जुन पोखरेल चुनावी मैदानमा छन्। आचार्य र गौतमले प्यानलसहित उम्मेदवारी दिएका छन् भने बुद्धाचार्य र पोखरेल स्वतन्त्र रूपमा प्रतिस्पर्धामा छन्।

निर्वाचनबाट अध्यक्षसहित १५ सदस्यीय नयाँ कार्यसमिति चयन हुनेछ। विसं २०११ मा अमृतप्रसाद शेरचनको अध्यक्षतामा स्थापना भएको पोखरा उद्योग वाणिज्य संघमा हाल २ हजार ७ सय ३१ सदस्य आबद्ध छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्