घलेगाउँमा सिनेमा संवाद:सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबाइने गरिएको गुनासो

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

घलेगाउँ (लमजुङ) ।

चलचित्र पत्रकार संघ नेपाल कास्कीको आयोजनामा पर्यटकीय घलेगाउँमा ‘सिनेमा संवाद’ कार्यक्रम भएको छ । शनिबार विभिन्न चार सेसनमा विभिन्न विषयवस्तुमाथि गहन छलफल भयो ।

पहिलो सेसन थियो, सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर । जसमा गफिए निर्देशक नवीन सुब्बा, विश्लेषक विश्वभक्त दुलाल (आहुति), कलाकार एवं निर्माता आशा मगराती र लेखक विकास सुवेदी । प्रस्तुतकर्ता थिए–पत्रकार दीपक परियार ।

उक्त सेसनमा सिनेमामा अझै पनि आदिवासी र सीमान्तकृत समुदायको कथा अपेक्षाकृत आउन नसकेको वक्ताले बताए । उनीहरुको स्वर दबाइने गरिएको गुनासो थियो । यसको मुख्य जड भनेको जातीयमात्र नभई वर्ग व्यवस्थाले पारेको प्रभाव भएको उनीहरुले बताए ।

निर्देशक नवीन सुब्बाले सिनेमा बनाउनेले पनि सिनेमाको संरचनासँग सम्झौता गर्ने गरेको टिप्पणी गरे । उनले विषयवस्तुको तथ्यमा सचेत हुनुपर्ने सुझाव दिए ।   चलचित्रकर्मीले त समाजलाई अग्रगति दिनुपर्ने बताए । उनले सौन्दर्य मारेर यही घलेगाउँमा ठूलठूला होटल बनाउन थाल्यौं भने यसको अस्तित्व नरहने बताए । उनले नेपाली फिल्म निर्माणमा जरा नभएको होइन, तर त्यसलाई हामीहरुले सम्बोधन गर्न नसकेको बताए ।

अर्का वक्ता आहूतिले वर्गीय उत्पीडनको पक्ष नेपाली फिल्ममा अझै पनि कमजोर रुपमा प्रस्तुत भएको बताए । उनले भने, ‘उत्पीडितको ज्ञानलाई अझै स्वीकार्य गरिँदैन ।’ उनले मूल कुरा सिनेमाको सौन्दर्यशास्त्रको कुरामा खराबै विषय पनि कसरी भनियो भन्ने भन्ने मूल मुद्दा हो भने । उनले भने, ‘उत्पीडितको विषयमा सिनेमा बनाउँदा उत्पीडितहरु अज्ञानी, अशिक्षित हुन् भन्ने देखाइएको छ । उनीहरुको शिक्षालाई निर्देशकले स्वीकार्न तयार छै्रन । महिला सम्पूर्ण परिवारको चालकको रुपमा भए पनि मूल योगदान छोप्ने काम हुन्छ ।’ उनले यस वर्ष सुपरहिट फिल्म ‘पूर्णबहादुरको सारंगी’ मा पनि गन्धर्वहरु अशिक्षित छन् भन्ने देखाइएको टिप्पणी गरे । तर, अशिक्षित भए सारंगी कसरी बनाउँछन्, कसरी बजाउँछन् ? कसरी सुरताल जानेका हुन्छन् ? यो समाजलाई अघि बढाउन उनीहरुको ऐतिहासिक योगदान छोप्ने काम गरेको छ ।

कलाकार आशा मगरातीले आफू दलित समुदाय त्यो पनि महिलाबाट प्रतिनिधित्व गर्दा सुरुका दिनमा आफ्नो जातका कारण कसैले पछि पार्छ कि भन्ने डर हुने गरेको स्मरण गरिन् । तर, अहिले यो ठाउँमा आइपुगेर आवाज दिन पाउँदा निकै खुसी लागेको प्रतिक्रिया दिइन् । उनले जबसम्म आफ्नो समुदायबाट आवाज निकाल्दैनौ, तबसम्म अथेन्टिक नआउने बताइन् । उनले गरिब भन्ने बित्तिकै अत्यन्तै गरिब महिला भनेर देखाइन्छ । के त्यतिमात्र हो त ? उहाँहरुको मर्म पनि बुझेर लेख्नुपर्छ । बाहिर आउनुपर्छ, भनिन् ।

लेखक विकास सुवेदीले आफूले सक्रिय पत्रकारितापछि २ वर्षसम्म झोला बोकेर ६०/६२ जिल्ला घुमेको स्मरण गरे । जसमा आफू अलि बढी नजिक मधेससँग भएको बताए । ‘प्रकाश’ पश्चिम नेपाल घुमेरै लेखेको बताउँदै उनले भने, ‘अब काठमाडांैको कोठाबाट कर्णालीको कथा लेख्न सकिँदैन । मैले देखेको कथामा कति तथ्य नजिक जाने निर्देशकको हातमा पनि हुन्छ ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्