गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा।
गण्डकीका प्रदेश प्रमुख समक्ष मुस्लिम आयोगले वार्षिक प्रतिवेदन पेस गरेको छ ।

प्रदेश प्रमुख डिल्लीराज भट्टलाई आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन प्रदेश प्रमुख भट्टलाई पेस गरेका हुन् ।

संविधानको धारा २९४ को उपधारा (३) को व्यवस्था बमोजिम आयोगले सोमबार एक कार्यक्रमका बीच सातौं वार्षिक प्रतिवेदन पेस गरेको हो ।

प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख भट्टले मुस्लिम समुदायको इतिहास र संस्कृतिको पहिचान, हकहितको संरक्षण र सम्वर्द्धन तथा सशक्तिकरणका लागि आयोग गठन भएको उल्लेख गरे ।

उहाँले नेपालका विभिन्न जाति, भाषा, संस्कृति र समुदायका बीचमा सहअस्तित्वका आधारमा आपसी सद्भाव कायम राख्न मुस्लिम आयोग जस्ता राज्यले स्थापना गरेका विभिन्न आयोगको भूमिका महत्वपूर्ण हुने बताए ।

प्रतिवेदनमा उल्लेख गरिएका विषयहरू मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत प्रदेशसभामा छलफलका लागि पठाइने प्रदेश प्रमुख भट्टले बताए ।

आयोगका कार्यवाहक अध्यक्ष अलीले आयोगका गतिविधि, उपलब्धि र आगामी योजनाबारे प्रदेश प्रमुख भट्टसमक्ष जानकारी गराए । अलीले मुस्लिम समुदायको अवस्था सुधारका लागि आयोगले प्रयास गरिरहेको बताउँदै पर्याप्त श्रोत साधन, बजेट र अधिकार नहुँदा आयोगले काम गर्न नसकेको गुनासो गरे ।

गण्डकी प्रदेश प्रमुखको कार्यालयमा आयोजित प्रतिवेदन हस्तान्तरण कार्यक्रममा प्रदेश प्रमुख कार्यालयका सचिव विजय राना लगायतको उपस्थिति रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्