पोखरामा रोटरी डिष्ट्रिक्ट ३२९२ को १८औँ सम्मेलन शुक्रबारदेखि,१५ सय रोटरियन सहभागी हुने

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा ।
पर्यटकीय राजधानी पोखरामा शुक्रबारदेखि रोटरी डिष्ट्रिक्ट ३२९२ को १८औँ डिष्ट्रिक्ट कन्फरेन्स सुरु हुँदैछ। पोखरामा आयोजना हुन लागेको यो रोटरीको तेस्रो सम्मेलन हो।

बुलौदीस्थित पोखरा इभेन्ट सेन्टरमा वैशाख ४ देखि ६ गतेसम्म सञ्चालन हुने सम्मेलनमा नेपाल र भुटानका करिब १५ सय रोटरियन सहभागी हुने अपेक्षा गरिएको छ। सम्मेलनले पोखराको आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा डिष्ट्रिक्ट गभर्नर विनोद कोइरालाले आफू पोखराबाटै प्रतिनिधित्व गर्दै गभर्नर बनेकाले गृहनगरमै ऐतिहासिक सम्मेलन आयोजना गर्न पाउनु गर्वको विषय भएको बताए। उनले नेपाल, भुटान, अमेरिका, भारत र अष्ट्रेलियाबाट समेत रोटरियनहरू आउने जानकारी दिँदै यसले पोखराको अन्तर्राष्ट्रिय पहिचान थप मजबुत बनाउने विश्वास व्यक्त गरे।

उनका अनुसार रोटरीले शिक्षा, खानेपानी, सरसफाइ, विपद् व्यवस्थापन, राहत वितरण लगायतका क्षेत्रमा निःशुल्क सामाजिक सेवा प्रदान गर्दै आएको छ।

रोटरी फाउन्डेसनमार्फत नेपालबाट करिब साढे ५ लाख डलर योगदान संकलन गरी त्यसको १० गुणासम्म सहयोग नेपालमै ल्याएर विभिन्न परियोजना सञ्चालन गरिँदै आएको उनले बताए।

सम्मेलन सफल बनाउन लक्ष्मी थापा गिरीको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ भने २० वटा उपसमितिहरूले आ–आफ्नो जिम्मेवारी सम्हालिरहेका छन्। कार्यक्रमलाई सभ्य र भव्य बनाउन सबै पक्ष सक्रिय रूपमा जुटेका छन्।

नयाँ वर्ष २०८३ को सुरुवातसँगै आयोजना हुन लागेको सम्मेलनमा विभिन्न विधाका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्नेछन्। ती कार्यपत्रमाथि छलफल गरी रोटरी सेवाको दायरा अझ विस्तार गर्ने लक्ष्य राखिएको छ।

सम्मेलनको पहिलो दिन उद्घाटन सत्रसँगै सामाजिक तथा विभिन्न पेशा–व्यवसायमा उत्कृष्ट योगदान गर्ने व्यक्तिहरूलाई ‘भोकेशनल अवार्ड’ प्रदान गरिनेछ। प्रमुख अतिथिका रूपमा रोटरी इन्टरनेशनलका प्रेसिडेन्ट प्रतिनिधि राजा गोविदासामी सहभागी हुनेछन्।

दोस्रो दिन विभिन्न कमिटीमार्फत सञ्चालन भएका कार्यक्रमबारे छुट्टाछुट्टै समूहमा छलफल हुनेछ भने अन्तिम दिन ‘रोटा क्विज’ तथा आगामी रोटरी वर्ष २०२८/२९ का लागि डिष्ट्रिक्ट गभर्नरको निर्वाचन गरिनेछ। तीनै दिन प्यानल डिस्कसनका कार्यक्रम पनि सञ्चालन हुनेछन्।

रोटरी ‘स्वार्थभन्दा माथि उठेर सेवा गर्ने’ मूल नाराका साथ सन् १९०५ मा अमेरिकाको शिकागोमा स्थापना भएको अन्तर्राष्ट्रिय गैरराजनीतिक सामाजिक संस्था हो। यसको स्थापना पाउल हेरिसले गरेका हुन्। हाल विश्वका करिब २०० देशमा १२ लाखभन्दा बढी सदस्य रहेको रोटरी नेपालमा सन् १९५७ देखि सक्रिय छ।

हाल रोटरी डिष्ट्रिक्ट ३२९२ अन्तर्गत नेपालका १६१ क्लब र भुटानको एक क्लबसहित करिब ५,७०० सदस्य आबद्ध छन्। युवा नेतृत्व विकासका लागि १८० रोट्र्याक्ट र १५० इन्टर्याक्ट क्लब पनि क्रियाशील छन्। पोखरामा मात्रै ११ वटा रोटरी क्लब रहेका छन्।

यसअघि पोखरामा सन् २०१३/१४ र २०१९/२० मा पनि यस्तै डिष्ट्रिक्ट कन्फरेन्स आयोजना भएका थिए। यसपटकको सम्मेलनमा सहभागी हुन रोटरियनहरू पोखरा आउने क्रम जारी रहेको छ भने सम्मेलन स्थल आकर्षक रूपमा सजाइएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्