
पोखरा । ‘हामी काठमाडौंमा बसोबास गर्ने, भेट पहिलोपटक हस्पिटलमा भएको हो ।’ पोखरामा आयोजित एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभलमा सुरुआती चरणमै कवि भूपी शेरचनकी जीवनसंगीनी कान्ति शेरचनले भनिन्, ‘यसरी भेटघाट मात्रै हाम्रो करिब ४÷५ वर्ष जति भयो होला ।’
पोखरामा फागुन १५ गतेबाट सुरुआत भएको फेस्टिभलमा साहित्यमा रुचि राख्नेको जभघट छ । यही क्रममा ‘स्मृतिमा भूपी’ सेसन अन्तरगत भूपी पत्नी कान्ति तथा छोरी कविता वक्ताका रुपमा उपस्थित थिए भने सहजकर्ताका रुपमा बसन्त थापा । कार्यक्रम उद्घाटन भइसकेपछिको दोस्रो सेसनका क्रममा उनीहरुले आफ्नो भनाई व्यक्त गरे । सहजकर्ता थापाले भूपी र कान्तिको प्रेम, विवाह र उमेरको फरकपनको विषयमा प्रश्न राख्दै गर्दा कान्तिले भनिन्, ‘अरुको २०÷२५ वर्ष हुन्थ्यो होला, तर हाम्रो त जम्मा १२ वर्षको फरक मात्रै हो ।’ कान्तिले भनिन् ।
भूपी थकालीको छोरो, कान्ति राणाकी छोरी उनीहरुको जात धर्म केही मिल्दैनथ्यो । अन्तरजातीय विवाहलाई सफल बनाएर समाजसंगै अगाडि बढ्नु त्यो बेला दाँत ढुंगा पचाउनु सरह थियो । त्यस माथि भूपी पहिलेदेखि विवाहित थिए । त्यो बेला अन्तरजातीय विवाह गर्नु कसैको लागि सहज थिएन ।
धेरै समयसम्म उनीहरुको विवाहलाई कान्तिको परिवारले स्वीकार गर्न सकेन । ‘हाम्रो सम्बन्धलाई प्रेमपछिको विवाह भने पनि हुन्छ, धेरै समय हामीलाई मेरो परिवारबाट स्वीकार भएन ।’ कान्ति भन्छिन्, ‘छोरी कविताको जन्म भएपछि भने सबै पक्षबाट हाम्रो सम्बन्धलाई स्वीकार गरियो ।’ भूपीको पहिले नै विवाहित भएको विषयमा कान्तिलाई राम्ररी जानकारी थियो । उनलाई लाग्छ, त्यसरी स्वीकार गर्न सक्नु पनि सायद मायाप्रेम पो थियो कि ।
यता भूपीकी छोरीको अनुभव बेग्लै छ । साहित्यकारका रुपमा भन्दा उनले उत्कृष्ट बुवाका रुपमा भूपीलाई कविताले चिन्ने मौका पाइन् । सुरुआतको समयमा कवितालाई बुवा भूपीको ख्यातीबाट त्यति खुसी मिल्थेन । बुवालाई भेट्न किन यति धेरै जना आउँछन् भन्ने लाग्थ्यो । ‘पछि बुझ्दै गएँ, अहिले त आफूलाई भूपीको छोरी हुँ भनेर चिनाउन पाउँदा गर्व लाग्छ ।’ हर्षित मुद्रामा उनले भनिन् । कहिलेकाहीं भूपीलाई राजाको समर्थकका रुपमा समेत अथ्र्याइने गरेको छ । यसमा कविताको गुनासो छ । छोरीको रुपमा कविताले भूपीलाई जुन रुपमा बुझिन् सायद अरुले बुझ्न सकेनन् । समर्थक पनि कसलाई र कस्तो विचारका व्यक्तिलाई गर्ने भन्ने लाग्छ उनलाई । ‘उहाँ राजा भन्दैमा सबै राजाको समर्थक हुनु भएन, वीरन्द्रको मात्रै हो, वीरेन्द्रको विचारबाट प्रभावित हुनुभयो ।’ उनी भन्छिन्, ‘पञ्चायतको समर्थक भने कहिले हुनुभएन, यसमा सायद भ्रम प¥यो कि ?’
साहित्य बजार वा भूपीको विषयमा परिचर्चा चलिरहँदा उनको मदिरा पिउने बानीको खुबै चर्चा हुने गर्छ । मदिरासंग भूपीको लगनगाँठो कसिएको थियो, भन्ने खुब चर्चा चल्छ नि भन्ने बसन्त थापाको प्रश्नको जवाफ दिँदै कविताले भनिन्, ‘यो हल्ला गलत थियो, पहिले पिउनुहुन्थ्यो होला, तर मेरो जन्म भएसकेपछि भने पिउने बानी धेरै हदसम्म छयो हल्ला गलत थियो, पहिले पिउनुहुन्थ्यो होला, तर मेरो जन्म भएसकेपछि भने पिउने बानी धेरै हदसम्म छुटिसकेको थियो रे ।’ हरेक मान्छेको आ–आफ्नै कमीकमजारी हुन्छन्, कवितालाई लाग्छ, सायद भूपीको पनि थियो । भूपी आफूबाट गल्ती भएमा सन्तानसंग आएर माफी माग्दै संगै रुन्थे । छोरा र छोरीबीच कहिले भिन्नता गरेनन् । ‘कमीकमजोरीका बाबजुद उहाँ हाम्रो लागि उत्कृष्ट अभिभावक हुनुहुन्थ्यो ।’
कविता आफैले बुवा भूपी शेरचनलाई समर्पित गर्दै किताब समेत प्रकाशित गरेकी छिन् । पहिले उनलाई बुवा जस्तो व्यक्तिको विषयमा लेख्न सक्दिन । साथीले उनलाई बुवा भूपीको विषयमा लेख्न हौस्याइरहन्थे । तर म सक्दिन भन्दै टारिरहन्थिन् कविता । पछि भने आफूले आफूलाई हिम्मत दिएर किताब प्रकाशित गरेकी छिन् । ‘मेरो जोसंग राम्रो चिनारी थियो, उहाँहरुसंगको अनुभवलाई समेटेर किताब लेखेको हुँ ।’ उनी भन्छिन् ।