पोखरा ।
साहसिक गतिविधिका लागि परिचित पोखरामा अब मनोरञ्जनको क्षेत्रमा नयाँ आयाम थपिएको छ। फ्लाइ नेपाल इन्टरटेनमेन्टले शुक्रबारदेखि ‘फ्लाइओभर सिनेमा’ सञ्चालनमा ल्याएको हो।
नेपालमै पहिलोपटक सुरु गरिएको यो सिनेमा पोखराको डिज्नील्याण्ड लेकसाइड क्षेत्रमा सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ।
कार्यक्रमका प्रमुख अतिथि तथा महानायक राजेश हमालले सिनेमाको औपचारिक उद्घाटन गरे । उद्घाटनका क्रममा उनले पोखराले अब फरक शैलीको सिनेमाटिक अनुभव पाउने बताए ।’पोखरा आफैंमा सुन्दर सहर हो। यहाँ धेरै चलचित्र छायांकन हुने गर्छन्।’ उनले भने -‘चलचित्र व्यवसायका हिसाबले पनि यो महत्वपूर्ण सहर हो। यो सिनेमा मात्र नभई एउटा नयाँ संसारको यात्रा हो ।’
कम्पनीका प्रमुख राम थापाले काठमाडौंमा सफल सञ्चालनपछि दर्शकको सकारात्मक प्रतिक्रिया र मायाका कारण पोखरामा विस्तार गरिएको जानकारी दिए । उनले यहाँ प्रयोग गरिएको प्रविधि काठमाडौंभन्दा अझ उन्नत रहेको बताए ।
उच्च प्रविधि र सिर्जनात्मक कथालाई संयोजन गर्दै दर्शकलाई नयाँ प्रकारको मनोरञ्जन अनुभव गराउने उद्देश्य रहेको उनकाे भनाई छ । उनले भने-‘यो सिनेमाका धेरै विशेषता छन्। १० देखि ३० मिनेटसम्म रोमाञ्चक फिल्म अनुभव गर्न सकिन्छ। कुनै चश्मा वा हेडसेट बिना प्रत्यक्ष अनुभूति लिन सकिन्छ, जुन सबै उमेर समूहका लागि उपयुक्त छ ।’
यस सिनेमा मार्फत दर्शकले १७ वटा फरक–फरक कथात्मक संसारमा प्रवेश गर्न सक्ने व्यवस्था गरिएको पनि उनले जानकारी दिए ।
कम्पनीका निर्देशक हिमाल थापाले साहसिक गतिविधिको सहर पोखरामा यस्तो प्रविधियुक्त सिनेमाले मनोरञ्जनको दायरा अझ फराकिलो बनाउने विश्वास व्यक्त गरे ।
अब पोखरेली दर्शकले साहसिकता केवल बाहिरी संसारमा मात्र होइन, भित्री अनुभूतिमा पनि महसुस गर्न सक्ने उनकाे भनाई छ ।








