पोखरामा भाइटिका महोत्सवको उल्लास

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । हाेटल संघ पोखरा नेपालले तिहारका अवसरमा विहीबार आयोजना गरेको १८ औं भाइटिका महोत्सवमा एक सय भन्दा बढी पर्यटकले सहभागिता जनाएका छन् ।
महोत्सवमा पर्यटकको उत्साहजनक सहभागिता रहेको र विभिन्न १५ भन्दा बढी देशका पर्यटकले भाइटिका लगाएको आयोजक संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।

संघले पोखरा र सिंगो नेपालको पर्यटन प्रवद्र्धन र संस्कृतिको संरक्षणको लागि विविध महोत्सव आयोजना गर्दै आएको स्मरण गराउँदै अध्यक्ष सुवेदीले यो पटकको भाइटिका महोत्सव पर्यटकको उल्लेख्य सहभागिताका कारण विशेष बन्न पुगेको बताए । महोत्सवमा अमेरिका, वेलायत, चीन, भारत, जर्मनी, इजरायल, स्वीडेन, अष्ट्रेलिया, स्पेन, न्यूजिलैण्ड, नेदरलैण्ड लगायतका देशका पर्यटकको सहभागिता रहेको थियो ।

लेकसाइड स्थित होटल पौवामा आयोजना भएको महोत्सवमा रेन्वो चिल्ड्रन होमका छात्राहरुले पर्यटकलाई टिका लगाइदिएका थिए । सहभागी पर्यटकलाई नेपाली ढाका टोपी र पछ्यौरा उपहार प्रदान गरिएको थियो । पर्यटकहरुले सेलरोटी लगायत नेपाली परिकार चाखे र महोत्सवका अवसरमा आयोजित देउसीभैलोमा रमाए ।

सप्तरंगी टिका लगाएका पर्यटकहरु नौलो अनुभव लिन पाएको भन्दै दंग थिए । अष्ट्रेलियाबाट आएकी एक पर्यटक एनिले आफू धेरै पटक नेपाल आएको र यो पटक नेपाल आएर टिका लगाउन पाउँदा हर्षित भएको प्रतिक्रिया दिइन् । उनले नेपाल सांंस्कृतिक रुपमा धनी रहेको भन्दै नेपालीको अतिथि सत्कारबाट आफू प्रभावित भएको बताइन् ।

संस्कृतिका माध्यमबाट पर्यटन प्रबद्र्धन गर्दै पर्यटन क्षेत्रलाई थप चलायमान बनाउने उद्धेश्यले महोत्सव आयोजना गरिएको हो । पछिल्लो पटक देशको विषम परिस्थितिका कारण पर्यटन क्षेत्र समेत प्रभावित हुन पुगेको भन्दै संघले महोत्सवले पर्यटनलाई पुरानै लयमा फर्काउन टेवा पुर्याउने विश्वास व्यक्त गरेको छ ।
कार्यक्रम भव्य रुपमा सम्पन्न भएको भन्दै महोत्सवका संयोजक एवं संघका द्वितीय उपाध्यक्ष गणेशराज पहारीले उपस्थित सबैलाई धन्यवाद दिए । महोत्सवमा तिहारको महत्व, दिपावली तथा तिहारका पाँचै दिनका बारेमा सहभागी पर्यटकलाई जानकारी गराइएको थियो ।
गोर्खा वियर र सोमरसबीले महोत्सवलाई सघाएका छन् । महोत्सवलाई नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाले प्रबद्र्धन गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्