पोखरा । गायिका पूर्णिमा रसाइलीको नयाँ गीत ‘तिम्रो तस्वीर’ सार्वजनिक भएको छ। क्रेजी फिल्म्सको प्रस्तुतिमा तयार भएको उक्त गीतमा एल्विन थापाको शब्द तथा संगीत रहेको छ भने रसाइलीले आफ्नो स्वर भरेकी छन्।
गीतको म्युजिक भिडियोको निर्देशन अनूप अधिकारीले गरेका हुन्। भिडियोको छायांकन दीपेश केसी र सुभाष सुवेदीले गरेका छन् भने डीओपी तथा सम्पादन मिलन शंकरले गरेका छन्। गीतको संगीत संयोजन विनोद रसाइलीले गरेका हुन्। पोखरा आसपासका विभिन्न आकर्षक स्थानहरूमा छायांकन गरिएको भिडियोले प्रेम र भावनाका विविध आयामलाई प्रस्तुत गरेको छ।
औपचारिक रूपमा पहिलो सांगीतिक कोसेलीका रूपमा सार्वजनिक भएको ‘तिम्रो तस्वीर’ प्रति गायिका रसाइली निकै आशावादी देखिएकी छन्। संगीतप्रतिको आफ्नो लगावलाई निरन्तरता दिँदै आगामी दिनमा अझ उत्कृष्ट सिर्जना लिएर आउने तयारीमा रहेको उनले बताएकी छन्।
गीत सार्वजनिक कार्यक्रममा प्रमुख अतिथि ब्रोसिस ब्याण्डका भोकालिस्ट प्रकाश रानाले पोखराबाट पछिल्लो समय संगीत क्षेत्रमा देखिएको सक्रियता, सिर्जनशीलता र नयाँ पुस्ताको उत्साह प्रशंसायोग्य रहेको बताए। उनले राजधानी केन्द्रित संगीत उद्योगको प्रवृत्तिलाई चुनौती दिँदै पोखराबाट पनि गुणस्तरीय सिर्जना उत्पादन भइरहेको उल्लेख गरे।
कार्यक्रममा बोल्दै चलचित्र पत्रकार संघ नेपाल कास्कीका अध्यक्ष सन्तोष बस्याल ले पोखराको संगीत क्षेत्रलाई अझ माथि उठाउन स्थानीय कलाकार, स्रष्टा, संगीतकर्मी र सञ्चारकर्मीबीच सहकार्यको आवश्यकता रहेको बताए। उनले पोखरामा प्रतिभा, सिर्जना र सम्भावनाको कमी नरहे पनि त्यसलाई उचित ढंगले प्रवर्द्धन, प्रचारप्रसार र बजार व्यवस्थापन गर्नुपर्ने चुनौती रहेको उल्लेख गरे।
अध्यक्ष बस्यालले पछिल्लो समय पोखराबाट गीत, संगीत, चलचित्र तथा म्युजिक भिडियो निर्माणका गतिविधि बढ्दै गएको भन्दै यस्ता सिर्जनात्मक अभियानलाई संस्थागत रूपमा साथ दिन चलचित्र पत्रकार संघ नेपाल कास्की सदैव सकारात्मक रहेको बताए। “हामीले पोखराको संगीत क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन यहाँका कलाकारसँग हातेमालो गर्दै अगाडि बढ्नुपर्छ। एकअर्काको सफलतामा खुसी हुने र नयाँ प्रतिभालाई प्रोत्साहन गर्ने संस्कृतिको विकास गर्न सके पोखरा संगीतको महत्वपूर्ण केन्द्र बन्न सक्छ,” उनले भने।
उनले नयाँ कलाकारहरूलाई सिर्जनामा निरन्तरता दिन आग्रह गर्दै गुणस्तरीय सामग्री निर्माण, डिजिटल प्लेटफर्मको प्रभावकारी प्रयोग र आपसी सहकार्यमार्फत पोखराको सांगीतिक पहिचान अझ बलियो बन्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा सहभागी कलाकार तथा संगीतप्रेमीहरूले ‘तिम्रो तस्वीर’ ले पूर्णिमा रसाइलीको सांगीतिक यात्रालाई थप उचाइ दिने विश्वास व्यक्त गरेका थिए। नयाँ कलाकारको रूपमा सार्वजनिक भएको यो गीतले पोखराबाट उदाउँदै गरेका प्रतिभाहरूको आत्मविश्वास बढाउनुका साथै स्थानीय संगीत क्षेत्रलाई थप चलायमान बनाउने अपेक्षा गरिएको छ।










