इतिहासको खानी सार्डिस युनेस्को विश्व सम्पदामा सूचीकृत

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

वासिङ्टन । करिब सात दशक लामो निरन्तर उत्खनन, अनुसन्धान र संरक्षण प्रयासपछि टर्कीको पश्चिमी क्षेत्रमा अवस्थित प्राचीन सहर सार्डिस युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत भएको छ।

सन् १९५८ देखि हार्वर्ड र कर्नेल विश्वविद्यालयको संयुक्त नेतृत्वमा सञ्चालन हुँदै आएको ‘हार्वर्ड–कर्नेल एक्सप्लोरेसन अफ एन्सियन्ट सार्डिस’ विश्वकै सबैभन्दा लामो समयदेखि जारी संस्थागत पुरातात्विक परियोजनामध्ये एक मानिन्छ। युनेस्कोको यो मान्यताले दशकौँदेखि चलिरहेको पुरातात्विक अनुसन्धान र सांस्कृतिक सम्पदा संरक्षणको महत्त्वलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गरेको छ।

हजारौँ वर्ष पुरानो सार्डिस ग्रीक, रोमन, बाइजान्टिन र ओटोमन सभ्यताहरूको उदय र पतनको साक्षी रहँदै आएको ऐतिहासिक केन्द्र हो। कर्नेल विश्वविद्यालयका कला इतिहास तथा भिजुअल स्टडिजका सह–प्राध्यापक बेन्जामिन एन्डरसनका अनुसार निरन्तर उत्खननले क्षेत्रको इतिहास बुझ्न महत्वपूर्ण प्रमाण र तथ्यहरूको विशाल अभिलेख तयार गरेको छ।

फलाम युगको लिडिया अधिराज्यको राजधानी रहेको सार्डिस भूमध्यसागर र एनाटोलियन पठारबीचको महत्वपूर्ण व्यापारिक तथा सांस्कृतिक केन्द्र थियो। लिडियालीहरूलाई विश्वमा पहिलो सिक्का प्रचलनमा ल्याएको श्रेय दिइन्छ भने राजा क्रोसस आफ्नो अपार धनसम्पत्तिका लागि प्रसिद्ध थिए। इतिहासकारहरूका अनुसार आधुनिक सहरहरूको विस्तारले नछोएका कारण यहाँ कांस्य युगदेखि हालसम्मका मानव सभ्यताका अनेक तहहरू सुरक्षित रहेका छन्।

२०औँ शताब्दीको प्रारम्भिक उत्खननका क्रममा आर्टेमिसको मन्दिर तथा प्राचीन समाधिस्थलहरू फेला परे पनि त्यतिबेला धेरै कलाकृति क्षतिग्रस्त भएका थिए वा विदेश पुर्‍याइएका थिए। तीमध्ये एक विशाल स्तम्भ अहिले पनि न्यूयोर्कस्थित मेट्रोपोलिटन म्युजियम अफ आर्टमा प्रदर्शनमा रहेको छ।

सन् १९२० को दशकमा अवरुद्ध भएको उत्खनन कार्य सन् १९५८ मा आधुनिक वैज्ञानिक पद्धतिसहित पुनः सुरु गरिएको थियो। त्यसपछि अनुसन्धान टोलीले प्राचीन संसारकै सबैभन्दा ठूलो सिनागगमध्ये एक र विशाल रोमन बाथ–जिम्नेसियम परिसरको पुनर्स्थापना गरेको थियो। यी संरक्षण कार्यलाई विश्वभरका पुरातात्विक परियोजनाका लागि उदाहरणीय अभ्यासका रूपमा हेरिन्छ।

हाल परियोजनामा अमेरिकी तथा टर्की विश्वविद्यालयका अनुसन्धानकर्ता, विद्यार्थी र स्थानीय समुदायको सक्रिय सहभागिता रहेको छ। कर्नेल विश्वविद्यालयमा विद्यावारिधि अध्ययनरत लेयला उहुरेरका अनुसार युनेस्कोको सूचीकरणले सार्डिसको अन्तर्राष्ट्रिय पहिचान बढाउनुका साथै थप अनुसन्धान, लगानी र पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

यद्यपि प्राकृतिक क्षयीकरण, आधुनिक कृषि विस्तार तथा अवैध उत्खनन अझै पनि सार्डिसका लागि प्रमुख चुनौती बनेका छन्। विज्ञहरूका अनुसार युनेस्कोको मान्यताले यस ऐतिहासिक सम्पदाको दीर्घकालीन संरक्षणमा महत्वपूर्ण सहयोग पुर्‍याउनेछ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्