पोखरा। नेपाल रेडक्रस सोसाइटी पोखरा महानगरपालिका–१४ उपशाखाले आयोजना गरेको खुला रक्तदान कार्यक्रममा २२ युनिट रगत संकलन भएको छ।
रक्तदान कार्यक्रमको उद्घाटन गर्दै पोखरा–१४ का वडा अध्यक्ष एवं रेडक्रस उपशाखा–१४ का सल्लाहकार बोधबहादुर कार्कीले रक्तदान पुण्य कार्य भएकाले सबैलाई रक्तदानमा सहभागी हुन आग्रह गरे।
उनले वडामा रेडक्रसले सञ्चालन गर्ने सामाजिक तथा मानवीय सेवाका कार्यक्रममा वडा कार्यालयको तर्फबाट आवश्यक आर्थिक तथा भौतिक सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमकी विशेष अतिथि नेपाल रेडक्रस सोसाइटी जिल्ला कार्यसमिति सदस्य पार्वती कार्कीले वर्तमान अवस्थामा रक्तदान कार्यक्रम आयोजना गरी सामाजिक सेवामा हातेमालो गरेको भन्दै उपशाखा–१४ लाई धन्यवाद दिइन्।
नेपाल रेडक्रस सोसाइटी उपशाखा–१४ का सभापति पदमबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव रामजी जिसीले सञ्चालन, कार्यक्रम संयोजक निरोज केसीले स्वागत मन्तव्य तथा उपाध्यक्ष राधिका कार्कीले रेडक्रसका सात सिद्धान्त वाचन गरेकी थिइन्।
कार्यक्रम सफल बनाउन विभिन्न व्यक्ति तथा संघसंस्थाले आर्थिक सहयोग गरेका थिए। रक्तदान कार्यक्रममा २२ युनिट रगत संकलन भएको उपशाखाका सचिव रामजी जिसीले जानकारी दिए।








