काठमाडौं । भदौ २६ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘पेन्सन पट्टा’ले प्रदर्शनको ११ औँ दिनसम्म ४ करोड २१ लाख ६६ हजार ७०१ रुपैयाँको ग्रस कलेक्सन गरेको छ।
चलचित्रले प्रदर्शनको दोस्रो सातामा पनि देशभरका विभिन्न हलमा दर्शकको उत्साहजनक साथ पाइरहेको निर्माण पक्षले जनाएको छ। रिलिजको पहिलो साताबाटै राम्रो व्यापार गरिरहेको चलचित्रले दोस्रो सातामा पनि आफ्नो प्रदर्शनलाई निरन्तरता दिइरहेको छ।
चलचित्रको कथावस्तु, कलाकारको अभिनय तथा पारिवारिक भावनालाई दर्शकले रुचाएपछि ‘पेन्सन पट्टा’प्रति दर्शकको आकर्षण कायमै रहेको निर्माण पक्षको भनाइ छ। विशेषगरी पारिवारिक सम्बन्ध, प्रेम, त्याग र सामाजिक यथार्थलाई प्रस्तुत गरिएको चलचित्रले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ।
निर्देशक माओत्से गुरुङ निर्देशित चलचित्रमा दयाहाङ राई, गौमाया गुरुङ, विल्सनविक्रम राई, पशुपति राई, बुद्धि तामाङलगायत कलाकारको अभिनय रहेको छ।
चलचित्रले पोखरा, चितवन, दमौली, बुटवललगायतका शहरमा समेत उल्लेखनीय दर्शक पाएको छ। प्रदर्शनको ११ औँ दिनमा पनि विभिन्न हलमा दर्शकसँगको भेटघाट तथा प्रचारात्मक गतिविधि जारी छन्। निर्देशक माओत्से गुरुङसहितको टोली अहिले चलचित्रको प्रचार तथा दर्शक भेटघाटका लागि पश्चिम हुँदै पूर्वतर्फको यात्रामा रहेको छ।
४ करोड २१ लाख ६६ हजार ७०१ रुपैयाँको ग्रस कलेक्सनसँगै ‘पेन्सन पट्टा’को प्रदर्शन यात्रा दोस्रो सातामा पनि उत्साहजनक रूपमा अघि बढिरहेको छ।








