महिलाको आर्थिक आत्मनिर्भरता बिना सशक्तीकरण सम्भव छैन : प्रमुख प्रशासकीय अधिकृत पौडेल

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन सके मात्रै वास्तविक महिला सशक्तीकरण सम्भव हुने बताएका छन्।

दलित महिला संघ कास्कीको आयोजनामा मंगलबार पोखरामा आयोजित ‘जातीय तथा लैङ्गिक विभेद : समग्र विकासको अवरोध’ भन्ने नारासहित स्थानीय सरकारका योजना, नीति र बजेटमा विषयमा प्रमुख सरोकारवाला तथा पत्रकारसँगको संवाद कार्यक्रममा बोल्दै पौडेलले महिलाको आर्थिक सशक्तीकरणलाई प्राथमिकतामा राख्नुपर्ने बताए।

‎उनले महिलालाई अधिकारका कुरा मात्रै गरेर सशक्त बनाउन नसकिने भन्दै आर्थिक अवसर, रोजगारी, सीप विकास तथा आयआर्जनका कार्यक्रमसँग जोड्नुपर्ने धारणा राखे।

‎कार्यक्रममा पोखरा महानगरपालिकाका लेखा अधिकृत नवीनकुमार बरालले स्थानीय तहको योजना तथा बजेट निर्माण र कार्यान्वयनबारे प्रस्तुति दिएका थिए।

जिल्ला समन्वय समिति कास्कीकी सदस्य सीता विश्वकर्माले नीति तथा बजेटमा रकम छुट्याए पनि वास्तविक दलित समुदायसम्म त्यसको लाभ पुग्न नसकेको बताइन्। उनले नीति र व्यवहारबीचको दूरी अन्त्य गर्नुपर्नेमा जोड दिइन्।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले जातीय तथा लैङ्गिक विभेद अन्त्यका लागि सञ्चार क्षेत्रले निरन्तर खबरदारी गर्नुपर्ने बताए। गैरसरकारी संस्था महासंघ कास्कीकी अध्यक्ष इन्दिरा पौडेलले दलित तथा महिला समुदायको सहभागिता बढाउन स्थानीय तह, नागरिक समाज र सञ्चार क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताइन्।

कार्यक्रममा स्थानीय सरकारका योजना, नीति तथा बजेटमा दलित र महिलाको सहभागिता, लक्षित कार्यक्रमको प्रभावकारिता, बजेट कार्यान्वयन तथा विभेदका विषयमा छलफल गरिएको थियो।

‎दलित महिला संघ कास्कीकी अध्यक्ष लक्ष्मी खाती परियारको अध्यक्षतामा सम्पन्न कार्यक्रम तनुजा परियारले सञ्चालन गरेकी थिइन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्