काराकास, एएफपी । भेनेजुएलामा बुधबार साँझ गएको शक्तिशाली भूकम्पका कारण बिहीबार दिउँसोसम्म कम्तीमा १६४ जनाको मृत्यु भएको छ भने ९७० भन्दा बढी व्यक्ति घाइते भएका छन्।
अमेरिकी भौगर्भिक सर्वेक्षण (यूएसजीएस) का अनुसार राजधानी काराकासको पश्चिमी क्षेत्रमा क्रमशः ७.२ र ७.५ म्याग्निच्युडका भूकम्प गएका थिए। भूगर्भविद्हरूले यसलाई सन् १९०० यताकै भेनेजुएलाको सबैभन्दा शक्तिशाली भूकम्पमध्ये एक भएको बताएका छन्।
भूकम्पका कारण काराकास तथा आसपासका क्षेत्रमा रहेका भवन, सडक र अन्य संरचनामा व्यापक क्षति पुगेको छ। राजधानीको उत्तरमा रहेको ला गुएरा राज्य सबैभन्दा बढी प्रभावित भएको अधिकारीहरूले जनाएका छन्।
उद्धारकर्मी तथा स्थानीय बासिन्दाहरू भग्नावशेषमा फसेकाहरूको खोजी तथा उद्धारमा जुटेका छन्। लगातार आइरहेका पराकम्पका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको बताइएको छ।
अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले मृतक र घाइतेको संख्या अझै बढ्न सक्ने चेतावनी दिँदै खोज तथा उद्धार कार्य तीव्र पारिएको जानकारी दिइन्।
फ्रान्स, स्पेन र अमेरिकाले प्रभावित क्षेत्रमा तत्काल उद्धार टोली तथा मानवीय सहायता पठाउने प्रस्ताव गरेका छन्।
ला गुएरा राज्यको काटिया ला मार सहरका ४९ वर्षीय स्थानीय बासिन्दा ल्यारी रोहासले एएफपीसँग कुरा गर्दै भने, “हामीले सबै कुरा गुमाएका छौँ। लगातार पराकम्प आइरहेकाले भग्नावशेषमा पस्न पनि डर लागिरहेको छ।”
तटीय क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ भने हजारौँ बासिन्दा घरबाहिर बस्न बाध्य भएका छन्। धेरै परिवार अझै हराएका आफन्तको खोजीमा जुटिरहेका छन्।
अधिकारीहरूका अनुसार क्षतिको पूर्ण विवरण आउन बाँकी रहेकाले मृतक तथा घाइतेको संख्या अझै बढ्न सक्ने सम्भावना छ।










