निःशुल्क तथा अनिवार्य शिक्षाको प्रभावकारी कार्यान्वयनमा जोड

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । निःशुल्क तथा अनिवार्य शिक्षाको अधिकारलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्नुपर्नेमा पोखरामा मंगलबार आयोजित अन्तरक्रिया कार्यक्रमका वक्ताहरूले जोड दिएका छन्।

बहिनी एडुकेयर फाउण्डेसनको आयोजना र शिक्षा विकास तथा समन्वय इकाइ, कास्कीको समन्वयमा भएकाे ‘निःशुल्क तथा अनिवार्य शिक्षाको अधिकार र कार्यान्वयन’ विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले साे कुरामा जाेड दिएका हुन् ।

कार्यक्रममा विद्यालय बाहिर रहेका बालबालिकाको पहिचान, शिक्षामा पुनःसमावेश र सबै बालबालिकाको शिक्षामा पहुँच सुनिश्चित गर्ने विषयमा छलफल भएको थियो।

‎कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यले निःशुल्क तथा अनिवार्य शिक्षासम्बन्धी कानुनी व्यवस्था र कार्यान्वयनको अवस्थाबारे प्रस्तुति राखेका थिए ।

राष्ट्रिय मानव अधिकार आयोग पोखरा कार्यालयकी प्रमुख नितु गर्तौलाले निःशुल्क शिक्षाको व्यवहारिक कार्यान्वयनमा जोड दिइन्।

गैरसरकारी संस्था महासंघ नेपाल, कास्कीकी अध्यक्ष इन्दिरा पौडेलले सामाजिक संघसंस्था सरकारका सहयोगी निकायका रूपमा शिक्षाको पहुँच विस्तारमा सहकार्य गर्नुपर्ने बताइन्।

‎बहिनी एडुकेयर फाउण्डेसनका निर्देशक सुरेन्द्र परियारले स्वागत गर्दै कार्यक्रमको उद्देश्यबारे जानकारी दिएका थिए।

कार्यक्रममा स्थानीय तहका शिक्षा शाखा, राष्ट्रिय मानव अधिकार आयोग, गैरसरकारी संस्था, विद्यालयका प्रधानाध्यापक, बाल क्लब, पत्रकार तथा अधिकारकर्मीलगायतको सहभागिता थियो।

कार्यक्रमका वक्ताहरूले निःशुल्क तथा अनिवार्य शिक्षाको अधिकार प्रभावकारी बनाउन स्थानीय तह, विद्यालय, सरकारी निकाय र सामाजिक संघसंस्थाबीच सहकार्य आवश्यक रहेको बताए।

बहिनी एडुकेयर फाउण्डेसनका अध्यक्ष अभिजित श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन दिगो विकास भविष्य कार्यक्रमकी संयोजक देवी चन्दले गरेकी थिइन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्