समाजमा प्रेरणा बन्दै असहाय बाल उपकार संघ

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

सामाजिक परीक्षणबाट संस्थाको पारदर्शिता प्रदर्शन

पोखरा । असहाय बाल उपकार संघ, पोखरा–२५ हेमजाले सामाजिक परीक्षण (Social Audit) सम्पन्न गरेको छ । आइतबार हेमजामा भएको कार्यक्रममा सामाजिक परीक्षक तथा कार्यक्रमकी सहजकर्ता निकिता कोइरालाले बालगृहको आर्थिक, भौतिक, शैक्षिक तथा समग्र व्यवस्थापनसम्बन्धी प्रतिवेदन प्रस्तुत गरिन् । सामाजिक परीक्षक कोईरालाले संस्थाले पारदर्शिता, सुशासन र जवाफदेहिताको दृष्टिले उदाहरणीय अभ्यास गर्दै आएको बताइन् ।

उनका अनुसार संस्थाले विगतका वर्षहरूमा नियमित वार्षिक साधारणसभा, आर्थिक तथा सामाजिक परीक्षण, चेकमार्फत भुक्तानी र त्रैमासिक बुलेटिन प्रकाशनमार्फत उत्तरदायित्वको अभ्यास गर्दै आएको छ । साथै संस्थाले बाल अधिकार र संरक्षण नीतिहरू, बालगृह सञ्चालन तथा व्यवस्थापन मापदण्ड २०७९, बाल अधिकार संरक्षण कार्ययोजना र कर्मचारी आचारसंहिता लागू गरेको पनि उनले बताइन् ।

कोइरालाले बालमैत्री वातावरण, विद्यालयसँगको सहकार्य, स्वास्थ्य बीमा, र व्यवहारिक सीप विकास कार्यक्रममार्फत संघले दिगो विकास लक्ष्य (SDG) का १, २, ३, ४, ६, १० र १६ नं. का लक्ष्यमा प्रत्यक्ष योगदान पु¥याएको उल्लेख गरिन् ।

यसका अतिरिक्त आश्रित बालबालिकाले बालगृहमा पारिवारिक वातावरणमा पोषणयुक्त खाना, सुरक्षित आवास, शिक्षा, स्वास्थ्य, अतिरिक्त क्रियाकलाप, भ्रमण लगायतका सम्पूर्ण पक्षहरुमा आफूहरु सन्तुष्ट रहेको बताउनुले पनि संस्थाका काम कारबाही र सम्पूर्ण गतिविधिहरू सवल र पारदर्शी रहेको सामाजिक लेखापरिक्षक कोईरालाले उल्लेख गरिन् ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाकी कार्यपालिका सदस्य तथा पोखरा वडा नम्वर २५ का वडा सदस्य धनाकुमारी पोखरेल तिमिल्सिनाले बालबालिकाको संरक्षण र माया गर्नु सबैको दायित्व भएको बताईन् । उनले भनिन्,–‘बालबालिकाको जीवनमा प्रकाश फेर्ने असहाय बाल उपकार संघले समाजमा सकारात्मक सन्देश दिएको छ । यस्तो संस्थाको पारदर्शी कार्यशैली अरूका लागि पनि प्रेरणा बन्नेछ ।’ उनले संस्थाले बालबालिकाको शिक्षा, संस्कृति, कृषि र परिवारप्रतिको बोधमा राम्रो काम गरिरहेको बताउँदै आगामी दिनमा वडाले पनि सहयोग र सहजीकरण जारी राख्ने प्रतिबद्धता जनाइन् ।

राष्ट्रिय बाल अधिकार परिषद् गण्डकी प्रदेशका समन्वय अधिकृत बद्रि प्रसाद वाग्लेले बालगृहका सबै गतिविधि कानुनी ढाँचाभित्र हुनुपर्नेमा जोड दिए । ‘संस्था नयाँ होइन, तर सरकारी नियमहरू पालना गर्नुपर्छ ।’उनले भने–‘बाल कल्याण अधिकारीले मापदण्ड नपुगेका बालबालिकालाई सिफारिस गर्न नहुने र सबै कार्य कानुनीरूपमा हुनु आवश्यक छ ।’

पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाकी बाल कल्याण अधिकारी बेलकुमारी गुरुङले संस्थामा आश्रित बालबालिकाको पहिचान र पुनस्र्थापनामा अझ ध्यान दिनुपर्ने बताइन् । उनले भनिन्,‘टिनएजका बालबालिका बढी देखिएकाले कर्मचारी संख्या बढाउनुपर्छ । बालबालिकाको पारिवारिक सम्पत्ति सुरक्षित गर्न लालपुर्जाको फोटोकपी राख्ने र उनीहरूलाई परिवारसँग परिचित गराउने कार्य नियमित हुनुपर्छ ।’ गुरुङले बालबालिकाको अधिकार, स्वास्थ्य र खुशी सुनिश्चित गर्न संस्थाले निरन्तरता दिनुपर्नेमा जोड दिईन् ।

कार्यक्रममा ग्रिन डेभलपमेन्ट बैंकका सह–महाप्रबन्धक तथा रिकभरी हेड संयुक्त धाख्वा, विष्णुपादुका माध्यमिक विद्यालयका प्रधानाध्यापक दीपकराज पौडेल, खोरियातरा टोल विकास संस्थाका अध्यक्ष लक्ष्मण बिक लगायतले उपकार बालगृहले बालबालिकाको संरक्षणका लागि गरेको उपकारको प्रशंसा गरे । बालगृहले बालबालिकाको शिक्षा र जीवन दुवैमा सहजता ल्याएको उनीहरुको भनाई छ ।

संस्थाको उद्देश्य, उपलब्धि र चुनौती
२०५८ सालमा काठमाडौंमा स्थापना भएको असहाय बाल उपकार संघले पोखरा–२५ हेमजा, खोरियातरामा २०७२ देखि बालगृह सञ्चालन गर्दै आएको छ ।

संस्थाको उद्देश्य आमा–बुबा नभएका,असहाय, जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकालाई आवास,शिक्षा,स्वास्थ्य र संरक्षण प्रदान गर्नु हो ।

बालगृहमा आश्रित (१० बालक र ९ बालिका) १९ जना बालबालिकाहरूमध्ये एक जना कक्षा ११ मा अध्ययनरत विद्यार्थी साहिल गुरुङलाई संस्थाले आईतबार बिदाइ गरेको छ । अव बालगृहमा १८ जना बालबालिका आश्रित रहनेछन् । यस बालगृहबाट हालसम्म १४२ जना बालबालिकाले आश्रय लिएर पुर्नस्थापना भईसकेका छन् । बालगृहमा हाल ६ जना कर्मचारी कार्यरत छन् ।

गत आर्थिक वर्षमा संस्थाले १ जना बालिकाको पारिवारिक पुनस्र्थापना गरी रु. १० हजार सहयोग र दुई वर्षसम्म निःशुल्क अध्ययनको व्यवस्था गरेको छ । बालगृहमा यस वर्ष पाँच जना नयाँ बालबालिका थप भएका छन् ।

बालगृहका बालबालिकाले फुटबल, सांस्कृतिक कार्यक्रम, कविता प्रतियोगिता र टेक्वान्डो प्रशिक्षणमा सहभागिता जनाई पुरस्कारसमेत प्राप्त गरेका छन् । बालगृहको बाल क्लबले सरसफाइ र सांस्कृतिक कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ ।

संस्थाले उच्च शिक्षाको निरन्तरतामा समस्या, महानगरको फोहोरको गाडी नआउनु, र एकल सहयोगदातामाथिको निर्भरतालाई प्रमुख चुनौतीका रूपमा पहिचान गरेको छ । तर नयाँ दाता खोज्ने, आयस्रोत विकास गर्ने र टोल विकास समितिहरू, वडा कार्यालयसँग सहकार्य गर्दै समाधान खोज्ने प्रयास भइरहेको जनाएको छ ।

सुधार र आगामी योजना

सामाजिक परीक्षणका क्रममा सरोकारवालाहरूले पुनस्र्थापना कार्ययोजना अझ व्यवस्थित पार्न, कर्मचारी संख्या बढाउन, परिवारसँग नियमित भेटघाट गराउन, जीवन उपयोगी सीप कक्षा सञ्चालन गर्न र दिगोपनाका लागि नयाँ सहयोगी निकाय खोज्नुपर्ने सुझाव दिएका छन् ।

बालगृहकी प्रशिक्षक तथा शिक्षिक सकुन्ता पाण्डेले स्वागत गरेको कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णमान श्रेष्ठ र सचिव रेजिना श्रेष्ठ जोशीले सामाजिक परीक्षणबाट प्राप्त सुझावलाई आत्मसात गर्दै आगामी दिनमा संस्थाका कमजोरी सुधार गरेर अझ पारदर्शी र प्रभावकारी रूपमा अघि बढ्ने प्रतिबद्धता जनाए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्