‘पोखरा १७ वडा कार्यालयले एचआईभी संक्रमितका कुरा सुनेन’: महासचिव गुरुङ

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १७ को कार्यालयले एचआईभी/एड्स संक्रमितहरूको आवाज र समस्यालाई बेवास्ता गरेको गुनासो गरिएको छ। राष्ट्रिय एचआईभी तथा एड्स महासंघका केन्द्रीय महासचिव मनोजकुमार गुरुङले वडा कार्यालयले संक्रमितहरूको सवालमा कुनै सुनुवाइ नगरेको गुनासो गरेका छन्।

​आइतबार पोखरामा आयोजित ‘एचआईभी/एड्ससम्बन्धी लाञ्छना र विभेद न्यूनीकरणका लागि जनप्रतिनिधि, प्रहरी, पत्रकार तथा जोखिम समूहहरूबीच अन्तरक्रिया एवं अभिमुखीकरण’ कार्यक्रममा उनले यस्तो बताएका हुन्।

​महासचिव गुरुङका अनुसार पोखरा महानगरपालिकामा एचआईभी/एड्स संक्रमितहरूको संख्या उच्च छ। यसबारे सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न पटक–पटक वडा कार्यालय धाउँदा पनि कुनै सुनुवाइ नभएको उनले बताए।

एचआईभी/एड्स न्यूनीकरण र सचेतनाका लागि स्थानीय तहको दायित्व बढी हुने जिकिर गर्दै उनले समाज र परिवारले संक्रमितहरूलाई हेर्ने दृष्टिकोण बदल्नुपर्ने र उनीहरूका लागि खुलेर हिँड्ने वातावरण बनाउनुपर्नेमा जोड दिए। कार्यक्रममा भेदभाव र लाञ्छनाका विषयमा महासचिव गुरुङले नै प्रस्तुतीकरण गरेका थिए।

​गण्डकी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय, प्रादेशिक जनस्वास्थ्य केन्द्र गण्डकी प्रदेशको आयोजना तथा पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा र पोखरा वडा नम्बर ७ कार्यालयको सहकार्य एवं समन्वयमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा क्षयकुष्ठ अधिकृत लक्ष्मण बसौलाले एचआईभी/एड्स सर्ने कारण, यसका लक्षण, न्यूनीकरणका उपाय र सुरक्षित रहने तरिकाबारे कार्यपत्र प्रस्तुत गरेका थिए।

उनले प्रस्तुत गरेको एआरटीको आर्थिक वर्ष २०८२/८३ को तथ्यांक अनुसार गण्डकी प्रदेशभर एचआईभी संक्रमितको कुल संख्या तीन हजार एक सय ७१ रहेको छ भने जसमध्ये सबैभन्दा धेरै कास्की जिल्लामा नौ सय जना संक्रमित रहेका छन्। अधिकृत बसौलाले एचआईभी न्यूनीकरणका लागि सम्बद्ध सबै पक्ष सजग र सतर्क रहनुपर्नेमा जोड दिए।

​कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष राममोहन आचार्यले संक्रमितहरूका लागि वडाले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै यस्ता सचेतनामूलक कार्यक्रमहरू हरेक वडा र टोल–टोलसम्म पुर्‍याउनुपर्नेमा जोड दिए।

त्यस्तै नेपाल पत्रकार महासंघ कास्की शाखाका सह–सचिव सुमन गुरुङ, पोखरा महानगरपालिकाका जनस्वास्थ्य अधिकृत फूलदेव तिम्सिना र जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी सहायक निरीक्षक रञ्जना कुँवर लगायतले एचआईभी/एड्स न्यूनीकरण र रोकथामका लागि समाजका सबै वर्ग उत्तिकै सचेत हुनुपर्ने धारणा राखेका थिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्