पाेखरा । कास्की प्रहरीले पोखरा महानगरपालिकाका दुई फरक स्थानबाट जुवातास खेलिरहेका १८ जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार साउन २३ गते बेलुकी पोखरा महानगरपालिका वडा नं. १७ ड्यामसाइडस्थित एक स्थानमा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरिएको हो । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले उनीहरूलाई नेपाली नगद रु. २८,०७०, भारतीय रुपैयाँ २,५०० र १५६ पत्ती ताससहित नियन्त्रणमा लिएको हो ।
त्यसैगरी, सोही दिन दिउँसो पोखरा महानगरपालिका वडा नं. ३१ भाटामुलस्थित अर्को स्थानबाट जुवा खेलिरहेका १२ जनालाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको टोलीले उनीहरूको साथबाट नगद रु. ३१,७६० र ४ बुक तास बरामद गरेको छ ।
पक्राउ परेका सबै १८ जनामाथि जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूर अन्तर्गत ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बिरेन्द्र कुमार पासवानले जानकारी दिए ।









