पोखरामा अन्तर्राष्ट्रिय सुरक्षा तथा आत्मरक्षा तालिम सम्पन्न, गोर्खा गार्डलाई सीईबीएको मान्यता

सिटी पोखरा डेक्स
  • ख-
  • ख
  • ख+

पोखरा । नेपाली युवालाई अन्तर्राष्ट्रिय स्तरको सुरक्षा सीप र रोजगारीका अवसरसँग जोड्ने उद्देश्यले पोखरामा सञ्चालित पाँचदिने अन्तर्राष्ट्रिय सुरक्षा तथा आत्मरक्षा तालिम सम्पन्न भएको छ। तालिमको समापनसँगै सेन्ट्रल युरोपियन बडीगार्ड एकेडेमी (सीईबीए) हंगेरीले गोर्खा गार्ड सेक्युरिटी सर्भिसेस प्रा.लिलाई आधिकारिक तालिम केन्द्रको मान्यता प्रदान गरेको छ।

‎गोर्खा गार्ड सेक्युरिटी सर्भिसेस प्रा.लिको आयोजनामा भएको तालिममा ३५ जना नियमित सहभागी थिए। मंगलबार आयोजित समापन समारोहमा उनीहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो। तालिमका विभिन्न चरणमा करिब ६० जनाको सहभागिता रहेको आयोजकले जनाएको छ।

‎समारोहका प्रमुख अतिथि सीईबीएका निर्देशक तथा प्रशिक्षक जोल्ट केरेस्तेसीले पाँचदिने तालिममा सहभागीको सीप, कार्यशैली र आत्मविश्वासमा उल्लेखनीय सुधार आएको बताए। तालिमले नेपाल र हंगेरीबीचको सम्बन्ध विस्तार गर्नुका साथै नेपाली युवाका लागि अन्तर्राष्ट्रिय अवसर सिर्जना गर्न सहयोग पुग्ने उनको भनाइ थियो।

‎सल्युट गोर्खा ट्रेनिङ सेन्टरका संस्थापक राहुल पाण्डेले युरोपेली सुरक्षा सीप नेपाली युवालाई सिकाएर दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले तालिम आयोजना गरिएको बताए। सुरक्षा गार्ड र आर्मीको तयारीमा रहेका युवालाई समेटिएको उल्लेख गर्दै उनले आगामी दिनमा अझ उच्चस्तरीय तालिम सञ्चालन गर्ने योजना रहेको जानकारी दिए।

‎गोर्खा गार्डका प्रमुख कार्यकारी अधिकृत हिमाल सुवेदीले नेपाली सुरक्षा क्षेत्रमा व्यावसायिकता र आधुनिक प्रविधिको प्रयोग बढाउँदै युवालाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउनु तालिमको मुख्य उद्देश्य रहेको बताए। कम्पनीले बैंक, विद्यालय, सपिङ मललगायत विभिन्न क्षेत्रमा सुरक्षा सेवा प्रदान गर्दै आएको उनले जानकारी दिए।

कम्पनीका निर्देशक इन्जिनियर सागर गौतमले अन्तर्राष्ट्रिय अनुभव र सीपलाई नेपाली सुरक्षा क्षेत्रमा भित्र्याउँदै सेवालाई थप व्यावसायिक र प्रभावकारी बनाउने लक्ष्य रहेको बताए।

‎तालिममा सहभागी मानबहादुर थापाले आत्मरक्षा, व्यक्ति तथा सवारीसाधनको जाँच, विशिष्ट व्यक्तिको सुरक्षा र मेला–महोत्सवमा भीड व्यवस्थापनसम्बन्धी व्यावहारिक ज्ञान हासिल गरेको बताए। उनले तालिम निकै उपलब्धिमूलक भएको प्रतिक्रिया दिए।

तालिममा सीईबीए हंगेरीका निर्देशक तथा प्रशिक्षक जोल्ट केरेस्तेसी, प्रशिक्षक यानोस लाउब, डाकोटा सेक्युरिटी रोमानियाका निर्देशक तथा प्रशिक्षक रोबर्ट आन्द्रास र बेलायती सेनाका पूर्व अधिकारी माइकल न्युटनले प्रशिक्षण दिएका थिए।

‎तालिममा आत्मरक्षा, व्यावसायिक सुरक्षा, अङ्गरक्षकसम्बन्धी सीप, व्यक्ति तथा सवारीसाधनको जाँच, भीड व्यवस्थापन र जोखिम पहिचानलगायत विषयमा प्रशिक्षण दिइएको थियो।

‎सीईबीएका अध्यक्ष जोल्ट केरेस्तेसीद्वारा हस्ताक्षरित प्रमाणपत्रअनुसार गोर्खा गार्डले सीईबीएको शैक्षिक तथा योग्यता विभागको सुपरिवेक्षण र गुणस्तर नियन्त्रणमा रही नेपाल तथा छिमेकी देशमा क्लोज प्रोटेक्सन अफिसर, बडीगार्ड तथा सुरक्षा विशेषज्ञसम्बन्धी तालिम सञ्चालन गर्न सक्नेछ। प्रमाणपत्रमा गोर्खा गार्डका निर्देशक हिमाल सुवेदीलाई सीईबीएको प्रशिक्षक तथा नेपालका लागि सम्पर्क अधिकारीसमेत नियुक्त गरिएको उल्लेख छ।

‎यस सहकार्यले नेपालमा अन्तर्राष्ट्रिय स्तरको सुरक्षा तालिम विस्तार तथा नेपाली युवाका लागि स्वदेश र विदेशमा व्यावसायिक अवसर सिर्जना गर्न सहयोग पुग्ने आयोजकको विश्वास छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्