कास्की जिल्ला युवा चेम्बर गठन, अध्यक्षमा डीएन लामिछाने

सिटी पोखरा डेक्स
  • ख-
  • ख
  • ख+

पोखरा । युवा उद्यमशीलता प्रवर्द्धन, नेतृत्व विकास तथा व्यावसायिक क्षेत्रमा युवाहरूको सक्रिय सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले चेम्बर अफ कमर्स कास्कीको आयोजनामा कास्की जिल्ला युवा चेम्बर गठन गरिएको छ। नवगठित युवा चेम्बरको अध्यक्षमा दुर्गानाथ (डीएन) लामिछाने चयन भएका छन् ।

नवगठित कार्यसमितिको उपाध्यक्षमा पवन तिवारी, सचिवमा गोविन्द शर्मा पौडेल र कोषाध्यक्षमा माधव भण्डारी चयन भएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि यामनाथ पौडेलले युवाहरू देशको आर्थिक तथा व्यावसायिक विकासका महत्वपूर्ण आधार भएको उल्लेख गर्दै उनीहरूमा उद्यमशील सोच, नेतृत्व क्षमता र नवीन व्यावसायिक अवधारणाको विकास हुन आवश्यक रहेको बताए ।

उनले युवा चेम्बरले युवाहरूलाई एकताबद्ध गर्दै व्यवसाय तथा उद्यमशीलताको क्षेत्रमा नयाँ अवसर सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

यसै अवसरमा पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष उमराज बास्तोलाले नवनिर्वाचित अध्यक्ष, पदाधिकारी तथा सम्पूर्ण सदस्यहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे।

युवा उद्यमशीलताको प्रवर्द्धन, व्यावसायिक क्षमता अभिवृद्धि तथा जिल्लाको आर्थिक विकासमा युवाहरूको सक्रिय सहभागिता बढाउन नवगठित कास्की जिल्ला युवा चेम्बरले महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्