पोखरा। अन्तर्राष्ट्रिय अटोमोबाइल ब्रान्ड बीएआईसी (BAIC) र आर्कफक्स (ARCFOX) ले पोखराको अमरसिंह चोकमा नयाँ सोरुम सञ्चालनमा ल्याएका छन्। नेपालमा आफ्नो बजार विस्तार गर्ने क्रममा लक्ष्मी मोटर हबले पोखरामा सोरुम उद्घाटन गरेको हो। नेपालका लागि बीएआईसी र आर्कफक्सका आधिकारिक आयातकर्ता तथा वितरक लक्ष्मी मोटर हबमार्फत सञ्चालनमा आएको सोरुमले पोखरा र समग्र गण्डकी प्रदेशका ग्राहकलाई अन्तर्राष्ट्रिय स्तरका सवारीसाधन तथा आधुनिक प्रविधिको पहुँच सहज बनाउने अपेक्षा गरिएको छ।
बीएआईसी (बेइजिङ अटोमोटिभ इन्डस्ट्री होल्डिङ कम्पनी) विश्वभर परिचित अटोमोबाइल उत्पादक कम्पनी हो। यात्रुवाहक सवारीसाधन तथा अत्याधुनिक अटोमोबाइल प्रविधिमा काम गर्दै आएको यस कम्पनीको प्रिमियम विद्युतीय सवारीसाधन ब्रान्ड आर्कफक्सले आधुनिक प्रविधि र वातावरणमैत्री यातायातलाई प्राथमिकता दिँदै आएको छ।
नेपाली बजारमा बीएआईसीले हाइब्रिड एसयूभी बीजे३०ई (BJ30e) उपलब्ध गराएको छ। कम्पनीले उक्त गाडीको मूल्य १ करोड २५ लाख ९६ हजार रुपैयाँ निर्धारण गरेको छ। लामो दूरीको यात्रा तथा नेपालको भौगोलिक अवस्थालाई ध्यानमा राखेर तयार गरिएको यस एसयूभीमा ६८५ एनएम टर्क उत्पादन गर्ने क्षमता रहेको छ। कम्पनीका अनुसार यसको शक्ति ३ हजार सीसी क्षमताको इन्जिनसरह छ। चारपाङ्ग्रे ड्राइभ प्रणाली (४डब्लूडी) रहेको बीजे३०ईले शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति ६.९ सेकेन्डमा हासिल गर्न सक्छ।
इन्धन दक्षताका हिसाबले पनि बीजे३०ई प्रभावकारी रहेको कम्पनीको दाबी छ। यसले प्रतिलिटर २० किलोमिटर माइलेज दिने र ५१ लिटर क्षमताको इन्धन ट्याङ्कीबाट करिब ९०० किलोमिटरसम्म यात्रा गर्न सक्ने बताइएको छ। कठिन भूभागमा सहज यात्रा गर्न यसमा हिउँ, बालुवा, हिलो र पानीका लागि चारवटा विशेष ड्राइभिङ मोड उपलब्ध छन्। कम्पनीका अनुसार गाडीले ४५० देखि ६०० मिलिमिटरसम्म गहिरो पानी तथा २० सेन्टिमिटरसम्मको हिलो पार गर्न सक्छ। यसलाई समुद्री सतहबाट ५ हजार ५० मिटर उचाइसम्म तथा माइनस ३५ डिग्री सेल्सियसदेखि १०० डिग्री सेल्सियससम्मको तापक्रममा परीक्षण गरिएको कम्पनीले जनाएको छ।
त्यसैगरी, बीएआईसीको प्रिमियम विद्युतीय सवारीसाधन ब्रान्ड आर्कफक्सले टी१ (ARCFOX T1 LV3) मोडल नेपाली बजारमा उपलब्ध गराएको छ। उक्त गाडीको मूल्य ३७ लाख ९६ हजार रुपैयाँ तोकिएको छ। पूर्ण विद्युतीय प्रविधिमा आधारित यस गाडीले एकपटक पूर्ण चार्ज गर्दा ३१० किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीको दाबी छ। यसमा ७० किलोवाट क्षमताको विद्युतीय मोटर र ४२.३ किलोवाट आवर क्षमताको ब्याट्री जडान गरिएको छ।
आर्कफक्स टी१ मा क्याल्ब (CALB) कम्पनीको लिथियम आइरन फस्फेट (LFP) प्रविधिमा आधारित ब्याट्री प्रयोग गरिएको छ। उक्त ब्याट्री सुरक्षा, दीर्घायु र उच्च ऊर्जा घनत्वका लागि परिचित रहेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार ३ हजार ५०० पटकसम्म चार्ज गरेपछि पनि ब्याट्रीको स्वास्थ्य अवस्था ८५ प्रतिशत कायम रहन सक्छ। चालकको आवश्यकता र यात्राको अवस्थाअनुसार यसमा इको, स्पोर्ट्स, कम्फर्ट र व्यक्तिगत गरी चारवटा ड्राइभिङ मोड उपलब्ध छन्।
नयाँ सोरुमबाट ग्राहकले बीएआईसी र आर्कफक्सका विभिन्न मोडल अवलोकन गर्नुका साथै तिनको डिजाइन, प्रविधि र इन्जिनियरिङबारे जानकारी लिन सक्नेछन्। सोरुममा सवारीसाधन खरिदसम्बन्धी व्यावसायिक परामर्श तथा बिक्रीपछिको सेवा र ग्राहक सहयोगसमेत उपलब्ध हुने कम्पनीले जनाएको छ।
उद्घाटन कार्यक्रममा लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठले पोखरामा बीएआईसी र आर्कफक्सको सोरुम सञ्चालनमा आउनु अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त ब्रान्ड तथा नवीन यातायात समाधानलाई देशभर विस्तार गर्ने समूहको प्रतिबद्धताको हिस्सा भएको बताए। उनले लक्ष्मी मोटर हबमार्फत ग्राहकलाई उन्नत अटोमोबाइल अनुभव प्रदान गर्दै गण्डकी प्रदेशमा कम्पनीको उपस्थिति थप सुदृढ गर्ने लक्ष्य रहेको उल्लेख गरे।
त्यसैगरी, लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक सुनिल श्रेष्ठले नेपाली ग्राहकको रुचि विद्युतीय तथा आधुनिक प्रविधियुक्त सवारीसाधनतर्फ तीव्र रूपमा बढिरहेको बताए। पोखराका ग्राहकले बीएआईसी र आर्कफक्सका सवारीसाधनको गुणस्तर, प्रविधि तथा विश्वसनीय बिक्रीपछिको सेवा एउटै स्थानबाट प्राप्त गर्न सकून् भन्ने उद्देश्यले सोरुम सञ्चालनमा ल्याइएको उनको भनाइ छ।
नेपालको अटोमोबाइल बजारमा विद्युतीय तथा आधुनिक प्रविधियुक्त सवारीसाधनप्रतिको आकर्षण बढ्दै गएको अवस्थामा पोखरामा नयाँ सोरुम सञ्चालनले अन्तर्राष्ट्रिय अटोमोबाइल ब्रान्डका सवारीसाधन तथा प्रिमियम यातायात विकल्पमा गण्डकी प्रदेशका ग्राहकको पहुँच थप सहज बनाउने अपेक्षा गरिएको छ।
पोखराको अमरसिंह चोकमा अवस्थित बीएआईसी तथा आर्कफक्सको नयाँ सोरुम ग्राहक तथा अटोमोबाइलप्रेमीका लागि सञ्चालनमा आइसकेको छ।








