तिहारको रौनक सुरु, आज काग तिहार मनाइँदै

सिटी पोखरा डेक्स
  • ख-
  • ख
  • ख+

पाेखरा ।

नेपालीहरूको दोस्रो ठूलो सांस्कृतिक तथा धार्मिक पर्व तिहारअन्तर्गत आज शनिबार देशभर काग तिहार मनाइँदैछ। यमपञ्चकको दोस्रो दिनका रूपमा मनाइने काग तिहारमा बिहानै घरघरमा कागलाई विभिन्न परिकार तथा खानेकुरा दिएर पूजा गर्ने परम्परा छ।

हिन्दू धार्मिक मान्यताअनुसार कागलाई यमराजको सन्देशवाहकका रूपमा लिने गरिन्छ। कागले शुभ तथा अशुभ खबर ल्याउने जनविश्वास रहेकाले यस दिन कागलाई सम्मानपूर्वक खानेकुरा अर्पण गरी पूजा गर्ने चलन रहिआएको छ। कागलाई पूजा गर्दा अनिष्टबाट जोगिन सकिने र परिवारमा सुख, शान्ति तथा समृद्धि कायम हुने धार्मिक विश्वाससमेत रहेको छ।

यस वर्ष तिथिको घटबढका कारण तिहारका पर्वहरू केही फरक दिनमा परेका छन्। शुक्रबार अर्थात् कात्तिक २० गते धनत्रयोदशी (धनतेरस) तथा यमदीपदानसँगै तिहारको धार्मिक अनुष्ठान सुरु भएको हो। आज कात्तिक २१ गते काग तिहारसँगै धन्वन्तरी जयन्ती पनि मनाइँदैछ।

तिहारको अवसरमा बजार तथा बस्तीहरूमा चहलपहल बढ्न थालेको छ। घरआँगन सरसफाइ गर्ने, सयपत्री तथा मखमली फूलका माला तयार पार्ने, झिलिमिली बत्तीले घर सजाउने र पर्वका लागि आवश्यक सामग्री किनमेल गर्ने क्रम बढेको छ। सहरदेखि गाउँसम्म तिहारको आगमनले उत्साह र उल्लास थपेको छ।

तिहारअन्तर्गत कात्तिक २२ गते आइतबार कुकुर तिहार तथा लक्ष्मीपूजा एकै दिन परेको छ। कुकुरलाई इमानदार र सुरक्षाको प्रतीकका रूपमा सम्मान गर्दै माला, टीका र मिठा परिकार खुवाएर पूजा गरिन्छ। सोही दिन साँझ घरघरमा दीप प्रज्वलन गरी धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरिनेछ।

त्यसैगरी कात्तिक २३ गते सोमबार गाईपूजा, कात्तिक २४ गते मंगलबार गोवर्द्धन पूजा, गोरुपूजा तथा नेवार समुदायको म्हःपूजा मनाइनेछ। यसै दिन नेपाल संवत् ११४७ को नयाँ वर्षसमेत प्रारम्भ हुनेछ।

तिहारको अन्तिम दिन कात्तिक २५ गते बुधबार भाइटीका मनाइनेछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ७ मिनेटमा रहेको छ। भाइटीकाका दिन दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका र मखमली तथा सयपत्री फूलको माला लगाइदिँदै दीर्घायु, सुस्वास्थ्य र सुखसमृद्धिको कामना गर्ने परम्परा छ।

फूल, बत्ती, देउसी–भैलो, पूजा र पारिवारिक मिलनको पर्वका रूपमा परिचित तिहारले धार्मिक आस्थासँगै सामाजिक सद्भाव र आपसी सम्बन्धलाई पनि प्रगाढ बनाउँदै आएको छ।

काग, कुकुर, गाई तथा गोरुजस्ता पशुपन्छीको सम्मान र पूजा गरिने यस पर्वले मानिसले प्रकृति तथा सम्पूर्ण जीवजन्तुप्रति सम्मान र सहअस्तित्वको भावना राख्नुपर्ने सन्देशसमेत दिन्छ। आधुनिक जीवनशैलीसँगै तिहार मनाउने तरिकामा परिवर्तन आए पनि यसको मौलिकता, सांस्कृतिक महत्त्व र पारिवारिक आत्मीयता आज पनि उत्तिकै जीवन्त छन्।

तिहारको आगमनसँगै देशभर उत्साह छाएको छ। दीपावलीको उज्यालो, फूलको सुगन्ध र आपसी सद्भावले यस वर्षको तिहारलाई थप उल्लासमय बनाउने अपेक्षा गरिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्