पोखरामा अन्तर्राष्ट्रिय स्तरकाे सुरक्षा तथा आत्मरक्षा तालिम सुरु

सिटी पोखरा डेक्स
  • ख-
  • ख
  • ख+

पोखरा । नेपाली युवालाई अन्तर्राष्ट्रिय स्तरको सुरक्षा ज्ञान, सीप र व्यावसायिक अवसरसँग जोड्ने उद्देश्यले पोखरामा पाँचदिने अन्तर्राष्ट्रिय सुरक्षा तथा आत्मरक्षा तालिम सुरु भएको छ। शुक्रबारदेखि सुरु भएको तालिम आगामी मंगलबारसम्म सञ्चालन हुनेछ।

गोर्खा गार्ड सेक्युरिटी सर्भिसेस प्रा.लि.को आयोजनामा सञ्चालित तालिममा अन्तर्राष्ट्रिय प्रशिक्षकहरु सेन्ट्रल युरोपियन बडीगार्ड एकेडेमी (सीईबीए) हंगेरीका निर्देशक तथा प्रशिक्षक जोल्ट केरेस्तेसी, सीईबीएका प्रशिक्षक यानोस लाउब, डाकोटा सेक्युरिटी रोमानियाका निर्देशक तथा प्रशिक्षक रोबर्ट आन्द्रास र बेलायती सेनाका पूर्व अधिकारी माइकल न्युटनले प्रशिक्षण दिनेछन् ।

दुई सिफ्टमा सञ्चालन भइरहेको तालिममा ६० जना युवा सहभागी छन्। देशका विभिन्न जिल्लाका युवासँगै  प्राकृतिक विपत्तिबाट प्रभावित म्याग्दीको बेनी क्षेत्रमा स्वयमसेवामा खटिएका सामाजिक क्षेत्रमा सकृय युवालाई समेत तालिममा सहभागी हुने अवसर प्रदान गरिएको आयोजकले जनाएको छ।

गोर्खा गार्ड सेक्युरिटी सर्भिसेसका प्रमुख कार्यकारी अधिकृत हिमाल सुवेदीले नेपाली सुरक्षा क्षेत्रमा व्यावसायिकता र आधुनिक प्रविधिको प्रयोग बढाउँदै युवालाई अन्तर्राष्ट्रिय सुरक्षा बजारमा प्रतिस्पर्धा गर्न सक्षम बनाउनु तालिमकाे मुख्य उद्देश्य रहेको बताए। ‎उनले भने, ‘हाम्रो उद्देश्य आफ्नै कम्पनीमा जनशक्ति भर्ना गर्नु मात्र होइन, बढीभन्दा बढी नेपाली युवालाई अन्तर्राष्ट्रिय स्तरको सीप र ज्ञान प्रदान गरी नेपालसँगै विदेशमा समेत व्यावसायिक अवसर खोज्न सक्षम बनाउनु हो।’

तालिममा व्यावसायिक सुरक्षा, आत्मरक्षा, विशिष्ट व्यक्तिको सुरक्षा, अङ्गरक्षकसम्बन्धी सीप, भीड व्यवस्थापन, जोखिम पहिचान तथा आपत्कालीन प्रतिकार्यलगायतका विषयमा प्रशिक्षण दिइने आयोजकले जनाएको छ।

आगामी दिनमा करिब ५०० युवालाई सुरक्षा क्षेत्रमा जोड्ने दीर्घकालीन लक्ष्य रहेको सल्युट गाेर्खा ट्रेनिङ सेन्टर प्रा. लि.का संस्थापक राहुल पाण्डेले जानकारी दिए। नेपाल र युरोपबीच सुरक्षा क्षेत्रमा ज्ञान, सीप, प्रविधि तथा व्यावसायिक अवसर आदानप्रदान गर्ने पुलकाे रूपमा तालिमलाई विस्तार गर्ने लक्ष्य रहेको उनको भनाई छ।

तालिम सफलतापूर्वक पूरा गर्ने सहभागीलाई मूल्याङ्कनका आधारमा प्रमाणपत्र प्रदान गरिनेछ। साथै, योग्यता र छनोटका आधारमा हंगेरीमा थप उच्चस्तरीय अङ्गरक्षक तालिमको अवसरसमेत उपलब्ध हुन सक्ने आयोजकले जनाएको छ।

तालिममा सल्युट गाेर्खा ट्रेनिङ सेन्टर प्रा.लि.का संस्थापक राहुल पाण्डे,  गोर्खा गार्ड सेक्युरिटी सर्भिसेस प्रा.लिका निर्देशक इन्जिनियर सागर गौतम र भारतीय सेनाका पूर्व क्याप्टेन कृष्णबहादुर आलेले सहजीकरण गर्नेछन् ।

तालिममा सल्युट गोर्खा ट्रेनिङ सेन्टर प्रा.लि., सेन्ट्रल युरोपियन बडीगार्ड एकेडेमी र डाकोटा सेक्युरिटी सर्भिसेसको सहकार्य रहेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्