प्रदेश खेलकुद परिषद गण्डकीको आठौें बोर्ड बैठक

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री महेन्द्रध्वज जिशीले खेलकुद भित्र बजेटमा देखिएका समस्याहरु समाधान गर्न आफू प्रयत्नशिल रहने जनाएका छन् ।

प्रदेश खेलकुद परिषद गण्डकीको आठौें बोर्ड बैठकलाई सम्वोधन गर्दै उनले उक्त कुरा बताएका हुन् । प्रदेश खेलकुद परिषदका अध्यक्ष समेत रहेका मन्त्री जिशीले सरकार आफ्नो उद्धेश्य प्राप्तीका लागि अघि बढिरहेको जनाउँदै भने–“हाम्रा मागहरु असिमित छन् । बजेट न्यून छ । तर हामी न्यून बजेटबाटै प्रतिफल प्राप्त गर्नुछ ।”

प्रशिक्षकहरु बिना खेलकुदको विकास सम्भव नभएको उल्लेख गर्दै उनले नयाँ प्राविधिक कर्मचारी व्यवस्थापन गर्न ऐनमा देखिएका समस्याहरु हटाउन सरकारले गृहकार्य थालेको बताए । वर्तमान प्रदेश सरकार राजनितिक निकासका लागि पहल गरिरहेको बताउँदै उनले सरकार नितिगत समस्याहरु पन्छ्याउँदै नयाँ गतिमा अघि बढ्ने दावी गरे ।

यस अघि पहिलो पटक सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको कार्यभार सम्हालेका मन्त्री जीशीलाई परिषदको हातामा परिषदका सदस्य सचिब श्रीधर शर्माले स्वागत गरेका थिए ।

परिषदको सम्पन्न बोर्ड बैठकले १० औं राष्ट्रिय खेलकुदको तयारीमा जुट्ने गरी बजेटको बाँडफाँड गरेको छ भने पहिलो पटक आयोजना हुन लागेको बागमती प्रदेशस्तरीय राष्ट्रिय प्रतियोगिताको तयारीलाई समेत तिव्र बनाउने निर्णय गरेको छ ।

यसै गरी यू–१५ राष्ट्रिय जुनियर राष्ट्रिय प्रतियोगिता पोखरामा सञ्चालन गर्नका लागि राष्ट्रिय खेलकुद परिषदमा प्रस्ताव पेश गर्ने जनाएको छ । उक्त प्रतियोगिता आगामी २०८० जेठमा हुने तय भएको छ ।

बैठकले परिषदका पूर्व अध्यक्ष एवं पूर्व मन्त्री सुशिला सिम्खडालाई आफ्नो कार्य अवधिभर खेलकुद, खेलाडी र प्रदेश खेलकुद परिषदको विकासमा पु¥याएको योगदानको कदर गर्दै आभार व्यक्त गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्