१९ औं फेवा नव वर्ष महोत्सवकाे तयारी तिव्र,३ लाख पर्यटकले महाेत्सव अवलाेकन गर्ने अपेक्षा

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा ।

नेपाली नयाँ वर्षकाे स्वागतार्थ  हुने १९ औं फेवा महोत्सवकाे तयारी तिव्र पारिएकाे छ । आयाेजक हाेटल संघ पाेखराले साेमवार पत्रकार सम्मेलन गरि महाेत्सवकाे तयारीबारे जानकारी गराएकाे हाे ।

 यही चैत २९ गतेदेखि आगामी वैशाख १ गतेसम्म फेवातालको किनार स्थित ड्यामसाइड चोकबाट खहरेचोकसम्मको सडकमा विविध सांस्कृतिक कार्यक्रम सहित नव वर्ष महोत्सव हुनेछ ।

“पर्यटन, संस्कृति र खाना’ भन्ने नाराका साथ नेपाली मौलिक संस्कृतिको संरक्षण र परम्परागत नेपाली खानाको प्रबर्द्धन गर्ने मुख्य उद्देश्यले आयोजना गर्न लागिएको महोत्सवमा ३ लाख पर्यटकले महाेत्सव अवलाेकन गर्ने अपेक्षा गरिएकाे महोत्सव संयोजक एवं होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले बताए ।

पोखरा पर्यटकीय राजधानी घोषणा भएको खुसियाली र नयाँ वर्षलाई उल्लासपूर्ण बनाउन संघ अन्तर्गतका होटलहरुले पाहुनालाई  २० प्रतिशत सम्म छुटको व्यवस्था गरिएकाे उनकाे भनाई छ । यसका साथै अन्य पर्यटकीय सेवा सुविधामा पनि सम्बन्धित व्यवसायीका तर्फबाट भारि छुट प्रदान गर्ने उनले जनाए ।

महोत्सवमा परम्परागत नेपाली खानाको प्रवर्द्धन, सांस्कृतिक झांकीका कार्यक्रम, लाेकदोहोरी र प्रख्यात कलाकारबाट पप कन्सर्ट, स्थानिय कलाकारद्वारा विभिन्न सांस्कृतिक नृत्य सहित हास्यव्यङ्गय प्रस्तुती तथा पर्यटक दौड प्रतियोगिता लगायत आकर्षणहरु रहेका छन् ।

पोखरा र वरपरका एक हजार दुई सय होटलमा ४० हजार विस्तारा रहेको, होटल संघ अन्तर्गत मात्र चार सय ४७ होटल रहेको, लेकसाइड र ड्यामसाइड एरियामा सात सय होटल रहेको र पोखराको पर्यटन क्षेत्रमा १५ हजार जनाले रोजगारी पाएको पनि अध्यक्ष सुवेदीले तथ्यांक सुनाए । अहिले पोखराको होटलहरुमा ५० देखि ६० प्रतिशत हाराहारीको अकुपेन्सी रहेको पनि उनले जानकारी दिए ।

कार्यक्रममा नेपाल पर्यटन वाेर्ड गण्डकी प्रदेशका निमित्त प्रमुख नवीन पाेख्रेलले गत वर्षकाे तुलनामा मार्च महिनामा आउने पर्यटककाे संख्या बढेकाे बताउँदै नव वर्षमा हुने महाेत्सवले थप पर्यटक आकर्षण गर्ने विश्वास व्यक्त गरे ।

 उनका अनुसार  गत वर्ष हवाई मार्गबाट मार्च महिनामा ९९ हजार पर्यटक आएकाे बताउँदै याे वर्ष मार्च महिनामा १ लाख २८ हजार पर्यटक आएकाे उल्लेख गरे । तसर्थ काेभिडले थला परेकाे पर्यटन व्यवसायमा केही चलायमान भएकाे उनकाे भनाई छ ।

गाे व्याक टु याेर कल्चर भन्ने भनाईलाई आत्मसात गर्दै प्रचाररात्मक रुपले संस्कृतिसँग जाेड्न महाेत्सवले थप टेवा पुग्ने उनकाे विश्वास छ ।

होटल संघ नेपालका केन्द्रिय सदस्य भरतराज पराजुलीले संघले पछिल्लो पटक निश्चित चौरमा नभई सडकमा नै महोत्सव आयोजना गर्न थालेपछि सहभागिता जनाउने पर्यटक र आगन्तुकको भीड क्रमशः बढ्दै गएको बताए ।

कार्यक्रममा हाेटल संघ पाेखराका निवर्तमान अध्यक्ष विकल तुलाचन, पाेखरा पर्यटन परिषदका अध्यक्ष पाेमनारायण श्रेष्ठ लगायतले बाेलेका थिए ।

महोत्सवको तयारीका लागि २१ वटा विभिन्न समिति र एरिया संयोजक गठन गरिएको छ। विविध सांस्कृतिक झांकी, नृत्य र खानाका स्टल पनि महोत्सवमा समेटिने छन् । गोर्खा बुअरीको मुख्य प्रायोजन रहेको महोत्सवलाई नेकन पोखरा महानगरपालिका र पर्यटन बोर्डले प्रबर्द्धन गरेको छ ।

 त्यसै गरी महोत्सवको सह प्रायोजनमा अन्नपूर्ण केबलकार, इसेवा होटल, फोन पे, पेफोनपे रहेका छन भने प्रायोजकमा टोकला चिया, मिट्‌को फुड नेपाल, पोखरा अल्ट्रालाइट प्रा.लि., रहेका छन्। गण्डकी प्रदेश सरकार, पोखरा पर्यटन परिषद र होटल संघ नेपालले महोत्सवलाई सघाउने छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्