फेवा महोत्सवको तयारी अन्तिम चरणमा,रैथाने खाना महोत्सव पनि हुने

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । नेपाली नयाँ बर्षका अवसरमा पोखराको फेवा किनारमा आयोजना हुने १९ औं संस्करणको फेवा नव बर्ष महोत्सवका अवसरमा नेपाली रैथाने खाना महोत्सव समेत समावेश गरिने भएको छ । तीन दिने महोत्सव यही चैत २९ गतेदेखि आगामी बैशाख १ गतेसम्म तीन दिन संचालन हुने छ ।

होटल संघ नेपाल केन्द्रको सहयोग र सेफ एसोसियसन अफ नेपालको सहकार्यमा पोखरा ६ गौरीघाट स्थित होटल ग्लेसियर एण्ड स्पामा गण्डकी प्रदेशस्तरीय खाना महोत्सव आयोजना गर्न लागिएको होटल संघ पोखरा नेपालका महासचिव एवं फेवा महोत्सवका प्रचार संयोजक राजेन्द्र ढकालले जानकारी दिए । महोत्सवमा गण्डकी प्रदेशमा रहेका विभिन्न रैथाने खानाहरुलाई समावेश गरिने उनले बताए ।

महोत्सवले स्थानीय खानाको अन्तराष्ट्रिय बजारिकरणमा समेत सहयोग पुग्ने महासचिव ढकालको बुझाई छ । फेवा नव बर्ष महोत्सव ड्यामसाइडचोकदेखी खहरेचोकसम्म (३.५ कि.मि.) क्षेत्रमा विभिन्न साँस्कृतिक कार्यक्रम सहित संचालन  हुनेछ ।

होटल संघ पोखरा नेपालले आयोजना गर्ने फेवा नव बर्ष महोत्सवको तयारी समेत अन्तिम चरणमा पुगेको संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले जानकारी दिए । यसैविच संघले हालै काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी काठमाडौंवासी र अन्य नेपालीलाई समेत महोत्सवमा सहभागिताका लागि निम्ता प्रदान गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै होटल संघ नेपाल केन्द्रका अध्यक्ष विनायक शाहले महोत्सवले पोखराको पर्यटनलाई चलायमान बनाउन सहयोग पु्र्याउने विश्वास व्यक्त गरे ।

पत्रकार सम्मेलनमा संघ केन्द्रका महासचिव साजन शाक्य, संघका केन्द्रिय सदस्य भरतराज पराजुली, होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले पनि भनाई राखेका थिए । कार्यक्रमको संचालन होटल संघ पोखरा नेपालका महासचिव राजेन्द्र ढकालले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्