‘भाडा तिरिदिन्छौँ भनेका छौँ, खुलामञ्चमै किन भोजभतेर गर्नुपर्‍यो ?’

  • ख-
  • ख+

उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसदहरूले उठाएको जिज्ञासामा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौं माग्नेको शहरको रुपमा परिचित गराउन खोजेको भन्दै गुनासो पोखेका छन् ।

कोरोना भाइरस संक्रमणको कारण काठमाडौंको खुल्लामञ्चमा केही संघ संस्थाहरुले निशुल्क खाना वितरण गर्दै आइरहेका छन् । पछिल्लो समय महानगरपालिकाले उक्त निशुल्क खाना वितरण रोक्ने भन्ने आसयका समाचार सञ्चारमाध्यमहरुमा आउन थालेपछि यसबारै संसद्को समितिले जिज्ञासा राखेको हो ।

‘सडकमा कसैले पनि मागी खानुपर्ने अवस्था आयो भने उनीहरु सबैलाई व्यवस्थापन गर्ने दायित्व काठमान्डौं महानगरपालिकाको हो’, शाक्यले भने, ‘हामीले त्यही जिम्मेवारी निर्वाह गर्ने कोसिस गरिरहेका छौँ । यस्तो अवस्थामा एकले अर्कालाई दोषारोपण गरेर भन्दा पनि सबै मिलेर अघि बढ्नुपर्छ । यो सबैको दायित्व पनि हो ।’

शाक्यले खुलामञ्चमा निःशुल्क खाना खुवाएको विषय सबैको सरोकारभित्र परेको भन्दै त्यसलाई व्यवस्थापन गरेरै छाड्ने पनि प्रतिबद्धता व्यक्त गरे ।

‘मेरो जानकारीअनुसार झण्डै आधा दर्जन संस्थाले त्यहाँ निःशुल्क खाना खुवाइरहेका छन्’, उनले भने, ‘सबैले एकै ठाउँमा खाना खुवाउन आवश्यक छैन । हामीले निःशुल्क भोजनको व्यवस्था गरिरहेका सङ्घ–संस्था र व्यक्तिलाई र खाना खानेलाई पनि पायक पर्ने गरी फरक–फरक ठाउँमा बन्द स्थानको छनोट गर्नुहोस् भनेका छौँ । हामी ती ठाउँको भाडा तिर्न तयार छौँ । त्यति मात्र होइन खाना खुवाउन आर्थिक अभाव भयो भने हामी खाद्यान्नको समेत व्यवस्थापन गर्न तयार छौँ । तर यस्तो कोरोना कहरका बेला स्वास्थ्य मापदण्डको समेत ख्याल नगरि खुला ठाउँमा खाना खुवाउनु हुन्न भन्ने हाम्रो चाहना हो ।’

उनले खाना खुवाउनकै लागि विभिन्न विदेशी संस्था र स्वदेशबाट समेत आर्थिक सहयोग उठाउनुपर्ने र चन्दा माग्नुपर्ने आवश्यकता नरहेको भन्दै आवश्यक सहयोग गर्न महानगरपालिका तयार रहेको पनि बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्