पोखरामा डिग्री माइलाको प्रेसमिट, सिनेमाबाट आशावादी निर्माणपक्ष

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा ।
पोखरामा डिग्री माइलाको प्रेसमिट गरिएको छ । चलचित्र पत्रकार संघ नेपाल कास्कीले आइतबार आयोजना गरेको पत्रकार सम्मलेनमा निर्माणपक्ष आशावादी देखिन्छ । बाँसुरी फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमा डिग्री माइला चैत ३० गतेबाट अल नेपाल रिलिज हुँदैछ । रामबाबु गुरुङको निर्देशनमा बनेको सिनेमा बेरोजगार युवाको कथा भएको कलाकार प्रकाश घिमिरेले उल्लेख गरे ।

उनी आफै पनि उक्त सिनेमामा अभिनय गरेका छन् । विद्यालयको व्यवस्थापन समितिको अध्यक्षको भूमिकामा घिमिरेलाई देख्न सकिन्छ । पढेलेखेको व्यक्तिको चेतनाको स्तरलाई समेत सिनेमा मार्फत देखाउन खोजिएको उनले बताए । घिमिरेले डिग्री माइला नेपाली समाजको कथाव्यथा भएको बताए । नाटकमा हेरेता पनि दृश्यात्मक रुपमा सिनेमा मार्फत अझ फरक पाउने उनले बताए ।

कलाकार माओत्से गुरुङ डिग्री माइलामा दयाहाङ राईको बुबाको भूमिकामा देखिदैछन् । उनले डिग्री माइला योग्यता प्राप्त गरेर बेरोजगार भएका युवाको कथा भएको उल्लेख गरे । सिनेमामा चर्चित कलाकारको सशक्त अभिनय भएकाले दर्शक निराश भएर फर्किन नपर्ने उनले बताए । पछिल्लो समय नेपाली सिनेमा क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा भइरहेको गुरुङ स्विकार्छन् । सिनेमाको सानो बजारमा अस्वस्थ प्रतिस्पर्धा हुन नहुने तर्क उनको छ । एकातिर अस्वस्थ प्रतिस्पर्धा भइराख्दा अर्कोतर्फ भाइचाराको सम्बन्ध पनि गाँसिएको उनी बताउँछन् ।

डिग्री माइलामा दयाहाङ राई, आँचल शर्मा, प्रकाश घिमिरे, माओत्से गुरुङ सहित बुद्धी तामाङ, विजय बराल, कमलमणी नेपाल लगायतका कलाकारको अभिनय छ । विशाल गुरुङ (एलजी), मनीराम पोखरृेल, मधु मिजार र सुश्मा गुरुङको लगानी रहेको सिनेमाको कथा रामबाबु गुरुङले नै लेखेका हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्