फेरि ‘लकडाउन’ खोज्ने कि जोगिने ?

  • ख-
  • ख+

दमौलीः पछिल्लो समय व्यास नगरपालिकामा कोभिड १९ संक्रमणका घटना बढिरहेका छन् । तर लापरवाही र भिडभाडको स्तर झनै बढ्दो छ । बिहानी चियापसलदेखि आन्तरिक जमघटमा मास्कको प्रयोग कमै हुने गरेको छ ।


यस्तोमा व्यास नगरपालिकाले चेतावनीयुक्त सूचना जारी गरेको छ । नगरपालिकाले तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाईसँग मिलेर जारी गरेको सूचनामा जनजीवन सहज बनाउनका लागि व्यापार, व्यवसाय सञ्चालनमा आउन दिइए पनि अवस्थामा सुधार नआए पुनः लकडाउनकै अवस्थामा जाने चेतावनी दिइएको छ ।

व्यास नगरपालिका र बजार एकाईको सूचना


अहिले एकाईले दिनहुँ माईकिङ गर्ने गरे पनि आन्तरिक जमघटमा खासगरी भिडभाडयुक्त पार्टी, कार्यक्रम आदिमा मास्क लगाउनेको संख्या घटिरहेको छ । ‘सकेसम्म लकडाउनको पक्षमा हामी छैनौं,’ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डिल्लीराम सिग्देलले भने,‘सबैले सचेतता अझ बढी अपनाइदिए हुन्थ्यो भनेर सार्वजनिक सूचना जारी गरेका हौं ।’


बजार एकाईको सूचना बजाउँदै हिंड्ने छेउछाउमै चिया पसलहरुमा मास्क लगाउनेको संख्या कम छ । आफन्त र साथीभाईको बिहानी चिया जमघट अनि रात्रिकालिन जमघटमा मापदण्ड उल्लंघनको क्रम बढ्दो छ । पार्टी र कार्यक्रम गर्ने क्रम घटेको छैन ।

मानुङ डाँडामा शनिबार देखिएको भिड


मानुङ डाँडामा शनिबार १० हजार बढीको संख्यामा मानिस आए पछि नगरपालिकाले संख्या घटाउने बोर्ड बैठकबाटै निर्णय गरेको छ ।

तर अझै मानुङमा पनि चहलपहल घटेको छैन । पीसीआर परीक्षण कम भएकाले संक्रमितको संख्या धेरै नदेखिए पनि गरिएका जाँचमा पनि संक्रमितको संख्या बढि भैरहनुले पनि जोखिम झनै बढाइरहेको छ । ‘सबैले सजगता अपनाएर व्यापार व्यवसाय सञ्चालन गर्न हामीले पटक पटक आग्रह गरेका छौं,’ एकाई सभापति श्रेष्ठ भन्छन्,‘पहिले हामीले क्षति भोगिसक्यौं सबैले आग्रह पालना गरिदिनुहोला ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्