पराजुलीलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्ड

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा।

पत्रकार रोहितराज पराजुलीलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्डबाट सम्मानित गरिने भएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार आयोजना गर्ने आठौं पोखरा स्पोर्टस् अवार्ड–२०८० मा उनलाई उक्त विधाबाट नगद ३५ हजारसहित अवार्ड प्रदान गरिने भएको हो ।

प्रतिभा छनोट समितिले उनको नाम सिफारिस गरेकोमा मञ्च अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले अनुमोदन गरेको महासचिव राजाराम पौडेलले बताए । यसअघि, उक्त अवार्डबाट सन्तोष पोखरेल, विनोद लामिछाने, सन्देश श्रेष्ठ, केशव पाठक, दीपक परियार र सागरराज तिमिल्सिना सम्मानित भइसकेका छन् ।

पोखरा १, लामपाटन मार्ग घर भएका पराजुली आमा दमयन्ती पराजुली र बुबा माधबप्रसाद पराजुलीको कोखबाट जन्म लिएका थिए । पराजुली २०६१ सालदेखि निरन्तर पत्रकारितामा क्रियाशील छन् । सुरुमा आदर्श समाज राष्ट्रिय दैनिकबाट विद्यार्थी पत्रकारिता थालेका उनी जनमत दैनिक, रेडियो वाराही हुँदै २०६६ फागुनदेखि नयाँ पत्रिका राष्ट्रिय दैनिकमा कार्यरत छन् । विशेषगरी खोज पत्रकारिता तथा विकृति विसंगतिविरुद्ध कलम चलाउने उनी साहसी र निडर मानिन्छन् ।

नेपाल पत्रकार महासंघ कास्कीका साधारण सदस्य उनी मञ्चका पूर्व कार्यसमिति सदस्य तथा संसदीय पत्रकार मञ्च गण्डकीका पूर्व सचिव हुन् । गत वर्षमात्र उनलाई युवा तथा खेलकुद मन्त्रालयले खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार २०८० बाट सम्मान गरेको थियो ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्