
पोखरा ।
युनाईटेड कम्युनिटी नेपाल (युनिकन) को आयोजना, फिफा फाउण्डेसनको सहयोगमा र एन्फा कास्की, पोखरा महानगरको खेलकुद विकास समिति र जिल्ला खेलकूद विकास समिति कास्कीको समन्वयमा पोखराका पाँच विद्यालयका विद्यार्थीहरूलाई निःशुल्क फुटबल प्रशिक्षण कार्यक्रम शुरु भएको छ ।
‘फुटबल फर फ्युचर’ परियोजनाको अभिमुखीकरण कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै युनिकन संस्थाका कार्यकारी निर्देशक विनोद न्यौपानेले सामुदायिक विद्यालयको विद्यार्थीहरू यस किसिमको अवसरबाट बञ्चित हुन नपरोस् भनि यो कार्यक्रम शुरु गर्न लागिएको बताए ।
कार्यक्रमबाट विद्यार्थीको चौतर्फी विकासमा सहयोग पुग्ने र सामुदायिक विद्यालयका विद्यार्थीले आफ्नै स्रोतमा यस किसिमको अवसर सिर्जना गर्न समस्या हुने भएकाले यो कार्यक्रम तयार पारी सञ्चालन गर्न लागिएको न्यौपानेले बताए ।
परियोजना पोखरा महानगरपालिकाभित्रका बाराही, कन्या, शितलादेवी, शिवशक्ति र अमरसिंह माध्यमिक विद्यालयमा सञ्चालन हुनेछ ।
कार्यक्रममा उपस्थित प्रधानाध्यापकहरुले खेलाडी विद्यार्थीलाई खाजा, औषधीउपचार लगायतको सुविधाको प्रबन्ध गरिदिन आग्रह गरेका थिए । साथै विद्यार्थीहरूले अतिरिक्त समय दिनुपर्ने भएकाले अभिभावकलाई बोलाएर कार्यक्रम बारे जानकारी गराउँदा कार्यक्रम अझ प्रभावकारी हुने कुरा प्रधानाध्यापकहरूले बताए ।
जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख सन बहादुर लामाले यस किसिमको कार्यक्रम थोरै मात्रामा हुने गरेको र यस किसिमको कार्यक्रमले विद्यालय र संस्थाको मात्र विकास नभई जिल्लाको लागि नै खेलाडी उत्पादनमा सहयोग पुग्ने बताए ।
त्यस्तै, पोखरा महानगरपालिका खेलकूद विकास समितिका अध्यक्ष दिपक गोदारले कार्यक्रम राम्रो भएको र यस कार्यक्रमलाई सफल बनाउन सबै पक्षबाट साथ र सहयोग हुनुपर्ने बताए ।
बिहानको समयमा फुटबल खेल्दा विद्यार्थीमा थकान नभई तन्दुरुस्त हुने भएकाले प्रशिक्षण कार्यक्रम बिहानमा गर्नु उपयुक्त हुने कुरा प्रशिक्षकहरूले राखेका थिए ।
यस कार्यक्रमबाट पाँच विद्यालयका तीन सय जना विद्यार्थी प्रत्यक्ष रुपमा लाभान्भित हुनेछन् भने परियोजनाभित्र अन्तरविद्यालय फुटबल प्रतिस्पर्धा, कथा वाचन कार्यक्रम, शनिबार रंगशालामा भेला र व्यक्तिगत बृद्धि विकासको सहजीकरण जस्ता कार्यक्रम समावेश गरिएको छ ।
युनिकन संस्थाको अध्यक्ष शिव कुमार पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला खेलकुद विकास समिति कास्कीको सभाहलमा सम्पन्न भएको थियो ।
कार्यक्रममा सम्बन्धित विद्यालयका प्रधानाध्यापक तथा खेलकुद शिक्षक, परियोजना अन्तर्गतका प्रशिक्षकहरू लगायतको उपस्थिति रहेको थियो ।