कास्कीका सीडिओ र एसपीको स्वागत र सम्मान

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । होटल संघ पोखरा नेपालले कास्कीका नव आगन्तुक प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई सोमबार एक कार्यक्रमको आयोजना गरी स्वागत गरेको छ । सोही अवसरमा संघले कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापालाई सम्मान पनि गरेको छ ।

जिल्लामा शान्ति सुरक्षा कायम राख्दै विविध विकृति नियन्त्रणमा उल्लेखनीय योगदान पुर्याएको भन्दै प्रहरी प्रमुख थापालाई सम्मान गरिएको हो ।

प्रहरी प्रमुखका रुपमा थापाले पोखरा भित्रिंदै गरेका पर्यटकलाई गैरकानूनी रुपमा स्कर्टिङ गरी उनीहरुलाई दुःख र हैरानी दिने गिरोहलाई निस्तेज पारेको संघका अध्यक्ष लक्ष्मण सुवेदीले स्मरण गराए ।

कार्यक्रमका अवसरमा संघका सल्लाहकार र पदाधिकारीहरुले पोखरा पर्यटकीय राजधानी घोषणासँगै रात्रीकालिन व्यवसाय २४ घण्टा खोल्न पाउने सन्दर्भमा त्यस्तो व्यवसायलाई व्यवस्थित गर्न ४१ बुँदे आचारसंहिता पालना गराउनुपर्ने र अनुगमन समेत अगाडि बढाइनुपर्ने सुझाव राखे ।

पर्यटकीय अपार्टमेण्टमा हुनसक्ने अवाञ्छित गतिविधिप्रति सचेत हुनुपर्ने, अव्यवस्थित पार्किङको समस्या सुल्झाउनुपर्ने र माशिक रुपमा प्रमुख जिल्ला अधिकारीले सर्वपक्षीय बैठक राखी जनता र व्यवसायीका समस्या, गुनासो र सुझाव सुन्ने व्यवस्थाका लागि समेत सोे अवसरमा अनुरोध गरिएको थियो ।

भारतीय पर्यटक बढेको बेला अहिले सिमा नाकाबाट पोखरा आउँदा उनीहरुमाथि धेरै ठाउँमा चेकिंग हुँदा हैरानी व्यहोर्नुपर्ने अवस्था रहेको र नगरबसले जथाभावि पार्किङ गर्ने तथा नो हर्नको नियम समेत पोखरामा प्रभावकारी रुपमा लागू हुन नसकेको गुनासो व्यवसायीले गरेका थिए ।

कार्यक्रममा हानका केन्द्रिय सदस्य एवं होटल संघ पोखरा नेपालका पूर्व अध्यक्ष भरतराज पराजुली, हान गण्डकीका अध्यक्ष हरिप्रसाद शर्मा गैह्रे, संघका सल्लाहकारहरु बच्चुराम तिवारी, मेहरमान श्रेष्ठ, उपाध्यक्ष गणेशराज पहारी र कोषाध्यक्ष नेत्रप्रसाद पौडेल लगायतले भनाई र सुझाव राखेका थिए ।

कार्यक्रममा बोल्दै प्रजिअ पाण्डेले पर्यटकीय क्षेत्र लगायत समग्र जिल्लाको सुरक्षा र उपभोक्ता अधिकार तथा हितलाई समेत ख्याल गरेर प्रहरी प्रशासन अगाडि बढ्ने प्रतिबद्धता सुनाए । यसका लागि प्रहरी प्रशासन व्यवसायीसँग हातेमालो गरेर नै अगाडि बढ्ने उनले बताए ।

क्लब र डिस्कोबाट निस्कँदा राति वा विहान वियर र रक्सीको बोतल लिएर निस्कनेलाई पनि कार्वाही गरिने उनले बताए । इमान्दारितापूर्वक आफूले गर्नै पर्ने काम गरेको बताउँदै उनले यसक्रममा आफू सम्मानित भएकोमा संघलाई उनले धन्यवाद दिए । कार्यक्रमको संचालन  संघका महासचिव राजेन्द्र ढकालले  गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्