पोखराको प्रचार गर्दै फर्कियो टेवान टोली

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा ।

पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) टोली पोखराको प्रचार गर्दै विदेश यात्राबाट फर्किएको छ । थाइल्याण्ड, सिंगापुर र मलेसिया पुगेको टेवानले पोखराको पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम गरि फर्किएको हो ।

पोखरा पर्यटनको राजधानी घोषणा भएपछि स्वदेशसँग विदेशमा पनि पोखराको प्रवद्र्धन गरिनुपर्ने आवश्यकता रहेकाले कार्यक्रम गरिएको टेवानका अध्यक्ष कमला गिरिले बताइन् ।

उनले यात्राले पोखराको प्रचार गर्नुका साथै अन्तर्राष्ट्रिय रुपमा पर्यटन व्यवसायी महिलाका लागि व्यवसायिक साझेदारीका लागि बाटो पनि खुलेको सुनाइन् ।

थाइल्याण्डको बैंकक स्थित नेपाली राजदूतावासमा भेटघाट तथा पोखराको पर्यटनमाथि अन्तरक्रिया गरिएको थियो । थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओलीले पोखरासँगको आफ्नो साइनोबारे खुलाउँदै पोखराले आफ्नो मौलिकतालाई ध्यान दिनुपर्ने बताए। उनले महिलामात्रै रहेको संस्थाले नेतृत्वले विदेशमा पोखराको प्रचार गर्न हिड्नु सराहनीय रहेको सुनाए ।

मलेसियामा रहेको टुर अपरेटरहरुसँगको छलफलमा पोखरा मलेसियन पर्यटकका लागि उपयुक्त गन्तव्य हुने निष्कर्ष थियो । मलेसियन पर्यटक लक्षित प्याकेजको व्यवस्था हुनुपर्नेमा टुर अपरेटरहरु जोड दिएका थिए ।

टेवान टोलीले क्यालालम्पूरमा रहेको मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलसँग पनि भेटघाट गरेको थियो । राजदूत बरालले पोखराको प्रचारात्मक कामका लागि सहयोग गर्ने बताएका थिए ।

दीगो पर्यटनका लागि समान सहभागिता भन्ने नाराका साथ स्थापित टेवानले स्थानीय तथा प्रदेश स्तरमा पोखराको प्रवद्र्धनात्मक कार्यक्रमका साथै महिला उद्यमशिलतासम्बन्धी गतिविधि गर्दै आएको छ ।

यसपटक विदेशमा पनि पोखराको प्रचारात्मक कार्यक्रम गर्ने उद्धेश्य लिएर थाइल्याण्ड, सिंगापुर र मलेसिया यात्रा गरिएको अध्यक्ष गिरिले बताइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्