पोखरा ।
राष्ट्रिय परिक्षा वोर्ड, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय पोखराका प्रमुख लक्ष्मण देवकोटाले सहि उत्तर लेख्ने विद्यार्थीको सहि मूल्यांकन हुनुपर्ने बताएका छन् । जुनसुकै तहका विद्यार्थीको पनि सहि मूल्यांकन हुनुपर्नेमा उनको जोड छ । सिटीपाेखरा डटकमसँगकाे कुराकानीका क्रममा उनले गत वैशाखमा सम्पन्न भएको कक्षा १२ को वार्षिक परीक्षाको उत्तरपुस्तिकाको परीक्षण र सम्परिक्षणको उदाहरण प्रस्तुत गरे ।
‘हामीले कक्षा १२ को उत्तरपुस्तिका परीक्षणपछि सम्परीक्षण ग¥यौं । सम्परीक्षण गर्दा सहि उत्तर लेखेको विद्यार्थीको सही मूल्यांकन भएको छ । कार्यालयमा प्राप्त उत्तरपुस्तिका परिक्षण गर्दा केही उत्तरपुस्तिकामा प्राप्तांकभन्दा सम्परीक्षण गर्दा प्राप्तांक बढी हुन आयो । तसर्थ सम्परीक्षणले सहि उत्तर लेखेको विद्यार्थीको सही मूल्यांकन भएको छ । यो नियतवश नभई मानवीय त्रुटिले भएको हो । यस विषयमा उत्तरपुस्तिका परीक्षण गर्ने शिक्षकहरुले पनि आफ्नो गल्ती स्वीकार गरिसकेकोले आगामी दिनमा गल्ती नदोर्याउने र सचेत हुनेमा हामी विश्वस्त छौं ।’उनले थपे- ‘विद्यार्थीले लेखेको नम्वर पाउनुपर्छ भनेर राष्ट्रिय परिक्षा वोर्डले निर्देशन गरेको छ । त्यहि अनुसार काम गरेको र यो काम गराई, निर्देशन, उत्तरपुस्तिका परीक्षण र सम्परीक्षण गर्ने शिक्षकहरुलाई अभिमुखिकरणमा भन्ने कुरा, काम गर्ने गराउने तौर तरिका एउटै भएको हुनाले हामीले बाहिरबाट आएका उत्तरपुस्तिकलाई जसरी ध्यानपूर्वक परीक्षण गराएका छौं । हाम्रो कास्की जिल्लाका बालबालिकाहरुको पनि बाहिरी जिल्लामा गएका उत्तरपुस्तिकाहरु पनि ध्यानपूर्वक परीक्षण भएको छ भन्ने सोचेका छौं । कुनै पनि विद्याथीलाई अन्याय भएको छैन र हुनुहुदैन भन्ने हाम्रो धारणा छ । यो परीक्षा केन्द्रमा विद्यार्थीहरुलाई अन्याय हुन दिएका छैनौं । भरसक त्रुटिरहित बनाउने प्रयास गरिएको छ । १२ वर्षसम्मको बालबालिकाको त्याग, अभिभावकको योगदान, शिक्षक र विद्यार्थीको मेहनतको नतिजा राम्रो होस भन्ने हाम्रो पनि चाहाना हो ।’
राष्ट्रिय परीक्षा वोर्ड, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय पोखराले कक्षा १२ को वार्षिक परीक्षाको उत्तरपुस्तिका परीक्षण र सम्परीक्षण सहज र सौहार्दपूर्ण वातावरणमा हालै सम्पन्न गरेर सम्वन्धित निकायमा पठाईसकेको छ ।
उत्तरपुस्तिका परीक्षण गरिसकेपछि कार्यालयले राष्ट्रिय परिक्षा वोर्डले दिएको निर्देशनअनुसार कार्यालयले अनिवार्य अंग्रेजी र अनिवार्य नेपाली विषयको सम्परीक्षण गराएको हो ।
कार्यालय प्रमुख देवकोटाका अनुसार गण्डकी प्रदेशको कार्यालयमा अन्य प्रदेशबाट अनिवार्य गणित, नेपाली र अंग्रेजी विषयका उत्तरपुस्तिका परीक्षण लागि धेरै आएका थिए भने यसका अलवा शिक्षा र व्यवस्थापनसँग सम्वन्धित उत्तरपुस्तिका पनि बढि नै प्राप्त भएका थिए । उत्तरपुस्तिका परीक्षणमा १०० जना भन्दा बढि शिक्षकहरु दिनहुँ खटिएका थिए ।
कक्षा १२ को उत्तरपुस्तिका परीक्षण र सम्परीक्षण गर्नको लागि स्नातकोत्तर उत्तीर्ण गरेको तिन वर्ष भई कक्षा १२ मा २ वर्षदेखि अध्यापन गराईरहेका विषयगत शिक्षकहरुलाई कार्यालयले आमन्त्रण गरेको थियो ।
कार्यालयले गत जेठ १७ गतेदेखि उत्तरपुस्तिका परीक्षण गर्नको लागि शिक्षकहरु खटाएको थियो भने उत्तरपुस्तिका परीक्षण शुरु गर्नुअघि गत जेठ १६ गते १२५ जना विषयशिक्षक र अन्य गरी १४० जनाको सहभागितामा एक दिने अभिमूखिकरण कार्यक्रम गरेको थियो ।
विगतका वर्षहरुमा कार्यालयले उत्तरपुस्तिका परीक्षणका लागि कोठाको व्यवस्थापन गर्न नसक्दा शिक्षकहरुलाई झण्झट र असहज भएको थियो । अहिले भने कार्यालयले आफ्नै कार्यालयमा सभाहल निर्माण गरेपछि उत्तरपुस्तिका परीक्षण गर्न सहज, शान्त र सौहार्दपूर्ण वातावरण भएको राष्ट्रिय परिक्षा वोर्ड, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय पोखराका प्रमुख लक्ष्मण देवकोटाले बताए ।
उनले भने -‘विगतका वर्षहरुमा कहिले अमरसिंह उच्च मावि त कहिले छोरेपाटन उच्च माविमा लगेर उत्तरपुस्तिका परीक्षण गर्नुपर्ने समस्या थियो । लाईव्रेरीमा राखेर उत्तरपुस्तिका परीक्षण गर्दा शिक्षक विद्यार्थी सबैलाई असहज हुने थियो । अहिले भने त्यो समस्या समाधान भएको छ । शिक्षकहरुले शान्त, सहज र सौहार्दपूर्ण वातावरणमा ढंगले उत्तरपुस्तिका परीक्षण र सम्परीक्षण गर्नुभयो ।’
कार्यालयले गत वैशाख वैशाख १४ गतेदेखि २६ गतेसम्म सञ्चालन भएको कक्षा १२ को वार्षिक परीक्षा राम्रोसँग सम्पन्न गरिसकेपछि उत्तरपुस्तिका संकलन गरेर राष्ट्रिय परिक्षा वोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १२ को निर्देशन अनुसार जहाँ जहाँ उत्तरपुस्तिका परीक्षणको लागि पठाउनुपर्ने हो, त्यहाँ पठाईसकेको थियो भने अन्यत्र प्रदेशबाट यहाँ कार्यालयमा आएका उत्तरपुस्तिकाको परीक्षण र सम्परीक्षण गरेको हो ।